नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा शहीद, द्वन्द्वपीडित तथा घाइते भएका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ।
काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रस्तावमा पार्टीका योद्धा तथा उनीहरूका परिवारप्रति अपनत्व र जिम्मेवारीबोध गर्दै अक्षय कोष स्थापना गर्ने नीति अघि सारिएका हुन्।
राजनीतिक प्रस्तावमा सम्बन्धित परिवारको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने उल्लेख छ।
कोषमा रकम संकलन, सञ्चालन तथा लेखापरीक्षणलाई पारदर्शी बनाइने प्रस्तावमा जनाइएको छ। कांग्रेसको आन्दोलन तथा लोकतान्त्रिक संघर्षमा योगदान दिएका परिवारलाई पार्टीले संस्थागत रूपमा सहयोग र संरक्षण गर्ने नीति अवलम्बन गर्नुपर्ने प्रस्तावमा जोड दिइएको छ।
सभापति थापाले पार्टीका लागि योगदान गरेका शहीद, घाइते तथा द्वन्द्वपीडितका परिवारलाई केवल राजनीतिक कार्यक्रममा सम्झिने नभई उनीहरूको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा समेत पार्टीको जिम्मेवारी स्थापित गर्नुपर्ने धारणा अघि सारेका छन्।
प्रकाशित: १९ आश्विन २०८३ १४:३४ सोमबार





