बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेपछि विभिन्न क्षेत्रमा हिंसा भड्किएको छ। प्रधानमन्त्री तारिक रहमानले अवामी लिगमाथि देशलाई अस्थिर बनाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार अवामी लिगका नेता–कार्यकर्ता र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये बीएनपीका दुई नेता पनि छन्। हिंसा १८ जिल्लासम्म फैलिएको छ।
प्रदर्शनकारीले बस, ट्रक, प्रहरी कार्यालय, पार्टी कार्यालय, नेताका घर तथा ग्रामीण बैंकका शाखामा आगजनी र तोडफोड गरेका छन्। गोपालगन्जमा राजमार्ग अवरुद्ध गर्नुका साथै सवारीसाधन जलाइएको छ। चटगाउँमा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पैतृक घरमा समेत आगजनी भएको छ। राजधानी ढाकालगायतका क्षेत्रमा घरेलु बम विस्फोट र आगजनीका घटनामा केही व्यक्ति घाइते भएका छन्।
हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले अवामी लिगका दर्जनौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद पनि छन्। ढाकामा मात्रै कम्तीमा ७१ जना नेता तथा कार्यकर्ता नियन्त्रणमा लिइएका छन्।
शेख हसिना सत्ताबाट हटेपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो। वर्तमान बीएनपी सरकारले पनि उक्त प्रतिबन्धलाई निरन्तरता दिएको छ। भारतमा रहेकी हसिनालाई बंगलादेश फर्काएर कानुनी प्रक्रियाको सामना गराउनुपर्ने माग सरकारले दोहोर्याउँदै आएको छ।
यसैबीच, प्रधानमन्त्री रहमानले बीएनपीका सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा फर्केर स्थानीय कार्यकर्तासँगै सक्रिय हुन निर्देशन दिएका छन्। हिंसाका कारण ढाका उच्च अदालतले देशका सबै सार्वजनिक विश्वविद्यालयका प्रवेश परीक्षा डिसेम्बर ३१ सम्म स्थगित गर्न आदेश दिएको छ।
प्रकाशित: ४ मंसिर २०८३ १४:०४ शुक्रबार





