पाथीभरा क्षेत्र विकास समितिको टोलीले नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईसँग भेटगरी पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने सहितका विषयमा सहयोग माग गरेको छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने विषयमा अध्ययनको सूचीमा पुरातत्व विभागका महानिर्देशकलाई सांसद भट्टराईले आग्रह गरेका छन् ।
लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको विकल्प खोज्न ड्रिल विधिबाट पानी निकाल्ने सवालमा बजेटको प्रवन्ध गर्न भट्टराईको आग्रहमा खानेपानी मन्त्री प्रदीपकुमार यादव सकारात्मक रहेको जानकारी आफुले पाएको कार्यकारी निर्देशक हाङवाङले बताए ।
समसामयिक समस्या लिएर त्यसको पहल गरिदिन सांसद भट्टराईसँग पुगेको क्षेत्र विकास समितिको टोलीले पाथीभरा पदमार्गमा सोलार बत्तिको व्यवस्थाका बारेमा सवाल उठाएपछि वैकल्पिक उर्जा केन्द्रका महानिर्देशकलाई सांसद भट्टराईले त्यसको व्यवस्थापनको लागि आग्रह गरेका छन् ।
सुकेटार–देउराली काफ्लेपाटी–पाथीभरा सडकलाई चाँडै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गर्ने र बजेटको लागि मन्त्रालयमा समन्वय गर्ने सांसद भट्टराईको भनाइ छ ।
संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरणपछि प्रदेश सरकारले विनियोजन गरेको चालु र पुँजीगत अनुदानको लागि कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकाससंग आफुले समन्वय गर्ने बचन दिई क्षेत्र विकास समितिकै टोलीका अघि सांसद भट्टराईले टेलिफोनमार्फत आग्रह गरेको समेत क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए ।
प्रकाशित: १९ श्रावण २०८२ १९:०४ सोमबार