१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

म चाँडै स्वदेश फर्कने छु : शेरबहादुर देउवा

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू स्वास्थ्य उपचारपछि चाँडै स्वदेश फर्किने बताएका छन्। हाल उपचारका लागि विदेशमा रहेका देउवाले बीपी स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमा लोकतन्त्र, संविधान र जनताको अधिकारको रक्षाका लागि पुनः नेपाली भूमिमा फर्किन लागेको सन्देश दिएका हुन्।

करिब छ दशकभन्दा बढीको राजनीतिक यात्रालाई स्मरण गर्दै लोकतन्त्रको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाउने बताउँदै देउवाले पछिल्लो समय मुलुकमा प्रतिशोधको राजनीति बढ्दै गएको भन्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि चुनौती देखिएको उल्लेख गरेका छन्।

देउवाले फरक विचारप्रति राज्यले देखाउने असहिष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताए। स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राखेर प्रतिपक्षलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि उनले लगाएका छन्।

यो पनि पढ्नुहोस्

हङकङबाट देउवाको सन्देश : सरकार प्रतिशोधको राजनीति गरिरहेको छ, आतंकित बनाइरहेको छ

जननायक बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै देउवाले अहिले देशलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्यको आवश्यकता रहेको बताएका छन्। विगतका अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सिर्जनशीलतालाई जोडेर राष्ट्र निर्माणको साझा अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

वक्तव्यको अन्त्यमा देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण रूपमा आशावादी रहेको उल्लेख गर्दै "म चाँडै स्वदेश फर्कने छु" भन्ने सन्देश दिएका छन्। राष्ट्रियता, प्रजातन्त्र र समाजवादको रक्षाका लागि पुनः नेपाली भूमिमा सक्रिय हुने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

प्रकाशित: ५ श्रावण २०८३ १९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App