२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

आम जनता पार्टीसँग अब मेरो सम्बन्ध रहँदैन: धमला

रौतहट निर्वाचन क्षेत्र नम्बर-४ बाट आम जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्वपत्रकार ऋषि धमलाले आफू कुनै पनि राजनीतिक दलको साधारण सदस्यसमेत नरहेको दाबी गरेका छन्।

सोमबार रिपोर्टर्स क्लबमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निर्वाचनका बेला आफूले प्राविधिक रूपमा मात्र चुनाव चिह्न प्रयोग गरेको बताएका हुन्।

आम जनता पार्टीको ‘मोबाइल’ चिह्न लिएर निर्वाचनमा होमिए पनि त्यस पार्टीसँग आफ्नो राजनीतिक वा सांगठनिक सम्बन्ध नरहेको उनको व्याख्या छ।

जनादेश पार्टी र आम जनता पार्टीबीचको सहमतिका आधारमा आफूले चुनाव चिह्न मात्र प्रयोग गरेको उनले बताए।

उनले थपे, ‘आजको दिनबाट मैले जुन चुनाव चिह्न लिएर चुनाव लडेको थिएँ, त्यो पार्टीसँग र त्यो चिह्नसँग मेरो अब सम्बन्ध रहँदैन। मैले खाली चुनावमा मात्र त्यो प्रयोग गरेको थिएँ। मैले पार्टीको कुनै सदस्यता लिएको छैन। म उम्मेदवार भएँ तर कुनै दलको सदस्य होइन।’

आफूलाई मतदान गर्ने रौतहटवासीलाई उनले धन्यवाद दिएका छन्। यद्यपि, निर्वाचनको अन्तिम नतिजामा भने उनले निकै निराशाजनक मत पाए।

आम जनता पार्टीको उम्मेदवारका रूपमा रौतहट–४ मा प्रतिस्पर्धा गरेका धमलाले जम्मा ६ सय ६५ मत मात्र प्राप्त गरेका छन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल भारी मतान्तरका साथ विजयी भएका छन्।

पौडेलले ३६ हजार ८ सय ७६ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्।

प्रकाशित: २५ फाल्गुन २०८२ १८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App