१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

‘पार्टीको ह्विप पनि मान्छु, स्वविवेक पनि प्रयोग गर्छु’

नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले संसदीय राजनीतिमा पार्टीको ह्विप र सांसदको स्वविवेकबीचको सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले दलीय अनुशासनको पालना सँगसँगै जनताको हितमा आफ्नो स्वविवेक पनि प्रयोग गर्ने बताएक हुन्।

थकालीले भने, ‘बहुदलीय व्यवस्थामा पार्टीको अनुशासन र ह्विप मान्नुपर्ने कानुनी तथा नैतिक बाध्यता हुन्छ, जसलाई हामीले इन्कार गर्न मिल्दैन। तर, सांसदका रूपमा हाम्रा केही विशेषाधिकार र स्वविवेकीय अधिकारहरू पनि हुन्छन्, जसलाई मर्न दिनु हुँदैन।’

उनले कहिलेकाहीं पार्टीको लाइन र व्यक्तिगत स्वविवेक बाझिँदा निर्णय लिन कठिन हुने अवस्था आउने स्वीकार गरे।

तर पनि राष्ट्रिय मुद्दामा सम्झौता नगर्ने उनले प्रतिबद्धता जनाए। ‘कुनै पनि विधेयक वा निर्णयले देश र जनताको हित गर्दैन भन्ने लाग्यो भने म आफ्नो पार्टीभित्र पनि फरक मत राख्न तयार छु। र, आवश्यक परे संसद्मै पनि आफ्नो स्वविवेक प्रयोग गर्नेछु,’ उनले थपे।

उनले संसद्लाई ‘रबर स्ट्याम्प’ मात्र बनाउन नहुने भन्दै प्रत्येक सांसदले आफ्नो विचार स्वतन्त्र रूपमा राख्न पाउनुपर्नेमा जोड दिए।

यसका साथै, थकालीले संसदीय समितिहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने औंल्याएका छन्।

‘संसदीय समितिहरू भनेका मिनी संसद् हुन्। त्यहाँ दलगत स्वार्थभन्दा माथि उठेर, विज्ञहरूको सल्लाहमा कानुन निर्माण र संशोधन हुनुपर्छ,’ उनले भने।

प्रकाशित: २५ चैत्र २०८२ २०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App