नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि प्रधानमन्त्री नहोस् भनेर कसैले पूजापाठ गरे पनि आफूलाई कुनै आपत्ति नभएको, तर जनताले चाहेको खण्डमा आफू पछि नहट्ने बताएका छन्।
आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले आफू पदको लोभी नभए पनि जनताको आदेशलाई शिरोधार्य गर्ने नेता भएको स्पष्ट पारे।
आफ्नो कार्यशैली र स्वभावको चर्चा गर्दै अध्यक्ष ओलीले आफूलाई देशका लागि रातदिन नभनी खट्ने व्यक्तिको रूपमा प्रस्तुत गरे।
उनले भने, ‘रातदिन नभनिकन देशका लागि समर्पित भएर खट्ने मान्छे हुँ। फेरि प्रधानमन्त्री नहोस् भनेर पूजा गर्न मन लाग्नेले पूजा गरे हुन्छ।’
उनले थपे, ‘मेरो त्यसमा केही आपत्ति छैन, मलाई प्रधानमन्त्री हुनु नै छैन। तर जनताले भने मान्छु। सम्पादकले भनेको मान्ने कि भोटर्सले भनेको मान्ने भन्दाखेरि मैले भोटर्सले भनेको मान्नुपर्ने हुन्छ।’
आफ्नो अभिव्यक्तिलाई अहंकारका रूपमा नलिन आग्रह गर्दै ओलीले आफू जस्तोसुकै परिस्थितिमा पनि जनताको अभिमतलाई सम्मान गर्ने नेता भएको सुनाए।
प्रकाशित: २ कार्तिक २०८२ १५:३८ आइतबार





