१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मलाई ‘ढिँडो मन्त्री’ भन्नुस्, गर्व लाग्छ: शिक्षामन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई माननीय वा ठूला मन्त्रीको सट्टा ‘ढिँडो मन्त्री’ को उपमा दिँदा गर्व महसुस हुने बताएका छन्।

शनिबार त्रिभुवन विश्वविद्यालय परिसरमा चलिरहेको सरसफाइ अभियानमा सहभागी हुँदै मन्त्री पुनले पद र प्रतिष्ठाभन्दा काम र सरलता ठूलो हुने सन्देश दिएका हुन्।

कार्यक्रममा उपस्थित सहभागीहरू र शुभचिन्तकहरूले गरेको सम्बोधनको जवाफ दिँदै मन्त्री पुनले ठट्यौली पारामा भने, ‘तपाईंहरूले मलाई अरू मन्त्री होइन, ‘ढिँडो मन्त्री’ बनाइदिए वा भनिदिए पुग्छ। ढिँडो सबैभन्दा स्वस्थकर खाना हो, त्यसैले यो नाम वा मन्त्रालय पाउनु मेरो लागि इज्जतको कुरा हुनेछ।’

मन्त्री पुनले आफू मन्त्री क्वाटरमा सर्नुभन्दा कीर्तिपुरस्थित आविष्कार केन्द्रमै रमाइरहेको बताए। ‘मेरो अफिसको अगाडि नेमप्लेटमा माननीय लेखिएला, तर मेरो बस्ने र काम गर्ने धरातल यही हो,’ उनले भने, ‘भोलि मन्त्री पद नरहँदा पनि मलाई यहाँबाट लखेटिन नपरोस्, म यहीँका लागि काम गरिरहनेछु।’

उनले आफू मन्त्री भए पनि सरकारी तामझामभन्दा काममा विश्वास गर्ने बताए। शनिबार बिदाको दिन पनि उनी औपचारिक पोसाकको सट्टा अनौपचारिक रूपमै श्रमदाताहरूलाई हौसला दिन पुगेका थिए।

 

यो पनि पढ्नुहोस्

त्रिविको फोहोरसँगै यहाँको ‘राजनीति फोहोर’ पनि सफा गर्नुपर्छ: शिक्षामन्त्री पुन

 

प्रकाशित: १३ मंसिर २०८२ २०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App