११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

त्रिविको फोहोरसँगै यहाँको ‘राजनीति फोहोर’ पनि सफा गर्नुपर्छ: शिक्षामन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरको भौतिक फोहोरसँगै त्यहाँभित्र जकडिएको राजनीतिक विकृति पनि सफा गर्नुपर्ने बताएका छन्।

शनिबार त्रिवि परिसरमा ‘श्रम संस्कृति’ अभियान (हर्क साम्पाङको समूह) ले आयोजना गरेको साप्ताहिक सरसफाइ कार्यक्रममा सहभागी हुँदै मन्त्री पुनले विश्वविद्यालय सुधारका लागि सो अभिव्यक्ति दिएका हुन्।

शिक्षामन्त्री पुनले देशका करिब १८ वटा विश्वविद्यालयमध्ये ७६ प्रतिशत विद्यार्थीको भार एक्लै त्रिविले बोकेको तथ्यांक प्रस्तुत गरे। देशको जेठो र ठूलो विश्वविद्यालय भएर पनि अत्यधिक राजनीतिकरणका कारण त्रिवि थला परेको उनको भनाइ थियो।

‘यहाँ राजनीतिक दलको दबदबा र हस्तक्षेप छ। जसका कारण प्राध्यापक र कार्यकारीहरूले स्वतन्त्र रूपमा काम गर्न सकेका छैनन्,’ मन्त्री पुनले भने, ‘अब यहाँको झाडी र फोहोर मात्र होइन, वर्षौंदेखि जम्मा भएको राजनीतिकरण पनि सफा गर्ने अभियान चलाउनुपर्छ।’

मन्त्री पुनले त्रिवि परिसरलाई विद्यार्थीहरूले शान्त वातावरणमा बसेर पढ्न र छलफल गर्न मिल्ने ‘पार्क’ का रूपमा विकास गर्ने आफ्नो योजना सुनाए।

उनले भने, ‘यहाँका प्राकृतिक सम्पदा नमासिने गरी पैदल मार्ग र बस्ने बेन्चहरू राखेर यसलाई सुन्दर बनाउनुपर्छ। यसका लागि विश्वविद्यालय अनुदान आयोग र मन्त्रालयले आवश्यक बजेटको खोजी गरिरहेको छ।’

कार्यक्रममा सहभागीहरूले उनलाई गरेको सम्बोधनको जवाफ दिँदै मन्त्री पुनले आफूलाई अन्य मन्त्रीभन्दा पनि ‘ढिँडो मन्त्री’ को रूपमा चिनिनुमा गर्व लाग्ने बताए।

ठट्यौली शैलीमा प्रस्तुत हुँदै उनले भने, ‘ढिँडो सबैभन्दा स्वस्थकर खाना हो। मलाई ‘ढिँडो मन्त्री’ भनियो भने त्यो इज्जतको कुरा हुनेछ।

उनले आफू पदमा रहँदा वा नरहँदा पनि बस्ने थलो कीर्तिपुरस्थित आविष्कार केन्द्र नै भएको बताउँदै मन्त्री पदबाट हटिसकेपछि पनि आफूलाई यहाँबाट लखेटिन नपरोस् भन्ने चिन्ता व्यक्त गरे।

धरानका मेयर हर्क साम्पाङको अभियानसँग जोडिएको ‘श्रम संस्कृति’ समूहले हरेक शनिबार सरसफाइ कार्य गर्दै आइरहेको छ।

प्रकाशित: १३ मंसिर २०८२ १९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App