जुम्लाको तातोपानी गाउँपालिकामा बारी खन्ने क्रममा फेला परेको पुरानो सकेट बमलाई नेपाली सेनाले सुरक्षित रूपमा निष्कृय पारेको छ।
बुधबार दिउँसो फेला परेको उक्त शंकास्पद वस्तुलाई सेनाको बम डिस्पोजल टोलीले तत्कालै डिस्पोज गरेको हो।
बुधबार दिउँसो साढे ३ बजेतिर तातोपानी गाउँपालिका-४ गौतमबाडास्थित स्थानीय रन्तावती उपाध्यायको बारी खन्ने क्रममा माटोमुनि सकेट फेला परेको थियो। बारीमा बम जस्तो शंकास्पद वस्तु भेटिएपछि स्थानीयले तत्कालै सुरक्षा निकायलाई खबर गरेका थिए।
जानकारी पाउनासाथ जुम्लास्थित नेपाली सेनाको श्री देवीदत्त गणबाट खटिएको विशेषज्ञ टोली घटनास्थल पुगेको थियो। गणका गणपति प्रमुख सेनानी धीरज थापाका अनुसार टोलीले आवश्यक सुरक्षा प्रक्रिया अपनाएर साँझ ५ बजेर २५ मिनेटमा उक्त सकेटलाई सुरक्षित रूपमा डिस्पोज गरेको हो।
सुरक्षा अधिकारीहरूले उक्त सकेट धेरै पुरानो रहेको र कुनै नयाँ आपराधिक गतिविधि वा तत्कालको सुरक्षा चुनौतीसँग सम्बन्धित नरहेको पुष्टि गरेका छन्।
सेनाले घटनास्थल र आसपासको क्षेत्रको निरीक्षण गरी पूर्ण रूपमा सुरक्षित बनाएपछि त्रसित बनेका स्थानीयलाई सचेत र आश्वस्त गराएको छ।
प्रकाशित: ११ चैत्र २०८२ २२:०८ बुधबार





