आफूमाथि लागेका सबै आरोपहरूलाई खण्डन गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई ‘अकबरे सुन’ सँग तुलना गरेका छन्।
उनले आफू कुनै ठग नभएको र जस्तोसुकै परीक्षणमा पनि खरो उत्रिने दाबी गर्दै आफ्ना आलोचकहरूलाई चुनौती दिए।
गत चैत १५ को तीनकुने घटना र त्यसपछिको जेल जीवनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘म कुनै ठग होइन... म अकबरे सुन हुँ। अकबरे सुनलाई जहाँ लगेर घोट्दा पनि पहेँलै आउँछ।’ उनले आफूमाथि कुनै केटी काण्ड वा अन्य कुनै अभियोग लगाउन सक्ने ठाउँ नरहेको जिकिर गरे।
‘तपाईंहरूको अगाडि अकबरे सुन छ,’ उनले भने, ‘अब तपाईंहरू घोटेर पानी खानुहोस्, कानमा लाउनुहोस्... मलाई सदुपयोग गर्नुहोस्।’
प्रसाईंले आफूलाई अभियानबाट पछि हटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको दाबी गरे। उनले दिल्लीमा केही मारवाडी र तस्करहरूले ‘तेरो सबै ऋण तिरिदिन्छौं, अभियान छोड्’ भन्दै आफूलाई किन्न खोजेको तर आफू नबिकेको खुलासा गरे।
‘मलाई किन्ने कोसिस गरियो, तर म नमानेको मान्छे हुँ र अहिले पनि मान्दिनँ,’ उनले भने, ‘मलाई नेपाल चाहिएको छ, नेपाली नागरिक चाहिएको छ।’
आफूले ७८ दिन हिरासत र त्यसपछि जेल जीवन बिताउँदा कुनै पश्चाताप नभएको बरु छाती फुलेको उनले बताए। ‘मेरो छोरो हरेक दिन मलाई भेट्न आउँथ्यो,’ उनले भने, ‘मैले के खोजेको थिएँ भने, मेरो छोरो जसरी मलाई भेट्न आउँछ, त्यसरी नै अरूका छोराछोरी पनि (विदेशबाट) आउन्।’
उनले अब आफ्नो अभियानलाई राजनीतिक दलमार्फत अगाडि बढाउने घोषणासमेत गरे।्
‘अब मैले तपाईंहरूको सल्लाहअनुसार र आम नागरिकको इच्छाअनुसार राजनीतिक दल खोलेर अघि बढ्ने निश्चय गरेको छु,’ उनले भने, ‘केही समयभित्रै दलको नाम घोषणा गर्छु।’
उनले आफ्नो अभियानले एउटा अध्याय पार गरेको र अब नयाँ अध्याय सुरु भएको बताए। ‘अबको क्रान्ति आर्थिक क्रान्ति हो,’ उनले भने, ‘संविधानले तपाईंलाई खान-लाउन दिँदैन। गरिबको घर-जग्गा फिर्ता हुनुपर्छ, त्यो संविधान खोजेको हामीले।’
यो पनि पढ्नुहोस्
राजावादीले नै आन्दोलन सिध्याउन खोजे: दुर्गा प्रसाईं
प्रकाशित: २ भाद्र २०८२ १६:१३ सोमबार





