राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सूर्य ढुंगेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
आयोगका अध्यक्ष तपाबहादुर मगरलाई सम्बोधन गरी उनले राजीनामा दिएका हुन् । राष्ट्रपतिलाई संवैधानिक प्रावधानअनुसार औपचारिक रूपमा राजीनामा बुझाउने तयारी रहेको उनको भनाइ छ । ढुंगेलले फोनमार्फत निर्णयको जानकारी दिँदै लिखित राजीनामा आइतबार राष्ट्रपतिलाई बुझाइने बताए ।
राजीनामापत्रमा उनले हालै राष्ट्रपतिबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त गरिएको कदमलाई ऐतिहासिक भन्दै स्वागत गरेका छन्। पत्रमा उनले भनेका छन्, ‘कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाएर शान्ति, कानुनको शासन, मानवअधिकार र संवैधानिक व्यवस्थाको पुनर्स्थापना गर्नेछ भन्ने विश्वास गरेको छु।’
ढुंगेलले साधारण नागरिकको हैसियतमा नयाँ सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै राजीनामा दिएर आफूले मानवअधिकार आयोगमा अझसक्षम, योग्य र ऊर्जाशील व्यक्तिलाई नियुक्त गर्ने अवसर दिन चाहेको स्पष्ट पारेका छन्।
राजीनामा पत्रमार्फत उनले आयोगका अध्यक्ष, सहआयुक्त, सचिव तथा सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेका छन्। ढुंगेलले आफ्नो कार्यकाललाई “उत्पादक र स्मरणीय” रहेको भन्दै सहकर्मीहरूप्रति सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन्।
प्रकाशित: २८ भाद्र २०८२ १६:०९ शनिबार



-600x400.jpg)

