२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन : चर्चा ‘हेभिवेट’ कै

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लाकै ‘जब्बर’ उम्मेदवार मानिएका थिए एमालेका शंकर पोख्रेल। एमाले महासचिव पोख्रेलको जित पक्का देखेको एमालेले त्यतिबेला उनलाई भावी प्रधानमन्त्रीका रूपमा समेत परिचित गराइरहेको थियो। 

दाङ क्षेत्र नं २ बाट चुनावमा भिडेका पोख्रेलका लागि संसद् प्रवेश गर्ने बाटो तत्कालीन माओवादी नेत्री रेखा शर्माको जनमतले बन्द गरिदियो। कांग्रेस, माओवादीलगायत दलहरूबिच त्यतिबेला बनेको चुनावी गठबन्धन पोख्रेलका लागि घातक सावित भयो। उनी झिनो एक सय ९७ मतान्तरले पराजित बन्न पुगे। कांग्रेसको दरिलो साथले निर्वाचित शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गर्दा एमालेका पोख्रेलले २६ हजार ६ सय ८० मत प्राप्त गरे।

२०७४ को निर्वाचनमा प्रदेशसभामा भिडेका पोख्रेल २०७९ मा प्रतिनिधिसभा प्रवेश गर्न चाहन्थे। त्यसो त २०७४ कै निर्वाचनमा पनि उनी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्ने आकांक्षामा थिए, तर माओवादीसँगको त्यतिबेलाको चुनावी गठबन्धनले उनलाई प्रदेशसभा सदस्यको उम्मेदवार बन्न बाध्यकारी अवस्था सृजना भयो। माओवादीका कृष्णबहादुर महरा प्रतिनिधिसभा निर्वाचन लड्न रोल्पाबाट दाङ झरेपछि पोख्रेल प्रदेशसभा निर्वाचनमा होमिनुपरेको थियो। तथापि प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने निक्र्यौलका साथ चुनावमा भिडेका पोख्रेलले लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीका रूपमा नाम दर्ज भने गराए। प्रदेशका संस्थापक मुख्यमन्त्री पोख्रेल २०७९ को निर्वाचनको जनमतलाई पनि आफ्नो पक्षमा पारेर राजनीतिक कदलाई थप उँचो पार्न चाहन्थे, तर २०७९ को जनमत अनुत्तीर्ण बनेपछि पोख्रेल अहिलेसम्म पार्टी महासचिवको हैसियतमै सीमित रहन पुगे।

कांग्रेस, माओवादीलगायतका दलहरूको गठबन्धनले २०७९ मा दिएको नमिठो पीडा बिर्साउन चाहन्छन् एमाले महासचिव पोख्रेल। फलत: आगामी निर्वाचनमा उनी थप स्फूर्तिका साथ भिड्न तयार छन्। ‘पार्टीको महासचिवजस्तो मान्छे निर्वाचनमा नभिड्ने कुरै हुँदैन’, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी भन्छन्, ‘फलत: उहाँ दाङका लागि निर्विकल्प उम्मेदवार हो।’ फागुन २१ मा तय भएको निर्वाचनका लागि नेकपा एमाले माहोल निर्माण गर्न सक्रिय रूपमा लागिपरेको छ। भलै निर्वाचन वातावरण बन्ने वा नबने भन्नेमा सशंकित छ एमाले। निर्वाचनको माहोल बने निर्वाचनमा सहभागी हुने जनाइसकेको एमालेको गतिविधि गाउँकेन्द्रित सांगठनिक गतिविधिमा सक्रिय छ। आन्तरिक सांगठनिक गतिविधिमा सक्रिय एमालेले पार्टीको यो गतिविधिलाई चुनावी माहोल निर्माण गर्ने लक्ष्यसमेत बनाएको छ। अझ आफ्ना महासचिव पोख्रेलका पक्षमा बलियो जनमत खडा गर्ने उद्देश्य एमालेको सांगठनिक गतिविधिको प्रमुख लक्ष्य हो।

‘हिजो खुमबहादुर खड्कालाई जसरी दाङले सर्वमान्य नेताका रूपमा मान्यो, उसैगरी शंकर पोख्रेललाई अबको दाङको सर्वमान्य नेताका रूपमा स्थापित गरिनुपर्छ भन्ने हाम्रो मान्यता हो’, एमाले जिल्ला उपाध्यक्ष बुढाथोकी भन्छन्, ‘यसर्थ जिल्लाको विकासका निम्ति उहाँको विकल्प सोचिनु हुँदैन भन्ने ढंगबाट हामीले मतदातालाई बुझाइरहेका छौं र यो सबै दंगालीले बुझ्नैपर्ने कुरा पनि हो।’

गत निर्वाचनको हार बिर्साएर यसपटक जितको उल्लास भर्ने मनसायमा रहेका पोख्रेलका लागि गत निर्वाचनमा जस्तो अन्य दलसँग कांग्रेस गठबन्धनको सम्भावना अहिलेसम्म देखिएको छैन। जिल्लामा बलियो जनमत रहेको कांग्रेसको अन्य कुनै दलसँग चुनावी गठबन्धन निर्माण नभए सहजै चुनाव जित्ने मनोबल पोख्रेलमा स्वाभाविकै रूपमा बढ्न सक्छ तर बदलिँदो पछिल्लो परिस्थतिले न्युट्रल मत कसको पक्षमा जान्छ भन्ने प्रश्न पनि उब्जाउँछ नै। ठूला भनिएका दलहरूप्रतिको नैराश्य र सोही नैराश्यबाट सिर्जित जेनजी आन्दोलनले न्युट्रल मतदाताको मत कता सेपिन्छ ? भन्ने चुनौती उनका सामु छ। 

यसैगरी एमालेसँग प्रमुख चुनावी प्रतिस्पर्धामा रहने नेपाली कांग्रेसको जनमत पोख्रेलका लागि अर्को चुनौती बन्ने छ। चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्ने बलियो दाबेदार शक्ति नेपाली कांग्रेससँगको भिडन्त पोख्रेलका लागि चानचुने बन्ने देखिन्न। भलै अहिलेसम्म कांग्रेसका लागि बलियो उम्मेदवारका रूपमा आफूलाई कसैले प्रस्तुत गरेका छैनन्। त्यसमाथि नयाँ शक्तिको परीक्षणका नाममा न्युट्रल मत बाँडिएको खण्डमा पोख्रेलका लागि निर्वाचन चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ, तर एमाले भने पोख्रेलको राजनीतिक दक्षता नै जितका लागि सहज बनिदिनेमा विश्वस्त छ। ‘महासचिवको राजनीतिक दक्षता, योगदान, विकासका लागि खेलेको भूमिकाको मूल्यांकन गरौं, खुमबहादुर खड्कापछि उहाँजत्तिको नेता अरू को नै छ र ?’, एमाले उपाध्यक्ष बुढाथोकी भन्छन्, ‘उहाँलाई जिल्लाकै सर्वमान्य नेताका रूपमा आम जनताले रुचाइसकेका छन्।’

जिल्लाको क्षेत्र नं २ बाट जित निकाल्ने लक्ष्यसहित एमालेका हेभिवेट नेता महासचिव पोख्रेल तयार भइरहँदा जिल्लाका अन्य निर्वाचन क्षेत्रमा पनि हेभिवेट नेताहरू नै चुनावी भिडन्तमा उत्रने चर्चा जिल्लामा चलेको छ। क्षेत्र नं ३ मा जित दोहोर्‍याउने लक्ष्यसहित कांग्रेसका दीपक गिरी मैदानमा आउने सम्भावना बढेको छ। गत निर्वाचनमा एमालेकी कोमल ओलीलाई पराजित गरेर संसद प्रवेश गरेका पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य गिरी पुन: जित दर्ज गर्ने लक्ष्यसहित चुनावी मैदानमा होमिने दाउमा छन्। 

त्यसो त, कांग्रेसकै अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी पनि उम्मेदवार आकांक्षीका रूपमा छन्। उनले आफू पनि उम्मेदवार रेसमा रहेको अभिव्यक्ति दिइसकेका छन्। कांग्रेसको बलियो पकड क्षेत्र रहेको दाङ क्षेत्र नं ३ मा कांग्रेसका लागि पनि न्युट्रल मतदाताको निर्णय निर्णायक बन्ने छ। पुराना दलहरूको विकल्पका रूपमा फरक नयाँ दलहरूमा मत विभाजन भएको खण्डमा निर्णायक मत विभाजन हुने र कांग्रेसका लागि चुनाव चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ। यसका साथै एमाले र नेपाली कम्युनिस्ट पार्टीको जनमत कांग्रेसका लागि प्रतिस्पर्धी बन्ने छ।

यसैगरी जिल्लाको क्षेत्र नं १ मा दुईजना हेभिवेट थारू नेताहरू आमनेसामने हुने चर्चा बाक्लिएको छ। एकातिर नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरी चुनावी मैदानमा उत्रने चर्चा भने कांग्रेसबाट अर्का हेभिवेट योगेन्द्र चौधरी उभिने चर्चा छ। २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित मेटमणिको तत्कालीन पार्टी माधवकुमार नेतृत्वको नेकपा समाजवादीलाई कांग्रेस र माओवादीको साथ थियो। समाजवादीको जनाधार निकै कम रहेको त्यो बेला मेटमणि कांग्रेस, माओवादीकै आडमा चुनावमा बाजी मार्न सफल भएका थिए। अहिले माओवादीसँगको एकीकरणपश्चात् पुन: मेटमणि नै यो दलबाट उक्त निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने बलियो सम्भावना अड्कल गरिएको छ। 

गत निर्वाचनमा निर्वाचित मेटमणिलाई उक्त निर्वाचन क्षेत्रमा निर्णायक रहेको थारू मत आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने विश्वास छ, तर कांग्रेसबाटै अर्का हेभिवेट योगेन्द्र चौधरी उनका लागि मुख्य चुनौती बन्न सक्ने छन्। कांग्रेसबाट योगेन्द्रको उम्मेदवारी रहने चर्चा छ। क्षेत्र नं १ मा निर्णायक रहेका थारू मतलाई आफ्नो पक्षमा पार्ने लक्ष्यसहित चुनावी मैदानमा मेटमणि उत्रिए उनका लागि बलियो काउन्टर अट्याकका रूपमा कांग्रेसका योगेन्द्र बन्न सक्ने छन्। यति मात्रै हैन, थारू मुद्दाहरूको उठान सुरुवात गर्न थरुहठ आन्दोलनको जन्मदातामध्येका एक योगेन्द्र यो समुदायसँग बढी साक्षात्कारमा रहँदै आएका छन्। हाल कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्रको थारू मतदातासँगको सामीप्यता बलियो रहेकाले योगेन्द्र उम्मेदवार बने थारू मत उनका पक्षमा सहजै पर्ने चर्चा बढी छ।

त्यसो त, २०७९ कै निर्वाचनअघि योगेन्द्र क्षेत्र नं १ का बलियो उम्मेदवारका रूपमा चर्चामा थिए। तर त्यो बेला उनको दल कांग्रेस माओवादी, समाजवादीलगायतसँग गठबन्धनमा जोडिएपछि योगेन्द्रको चुनावी मैदानमा उत्रने लक्ष्य समाप्त भएको थियो। त्यो बेला गठबन्धनबाट मेटमणिले टिकट पाएका थिए।

प्रकाशित: १६ मंसिर २०८२ ०८:४४ मंगलबार