२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्रीले गरे उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन

गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार मतदान जारी रहँदा गृहमन्त्रीले गृह सचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखहरूसँगै मतदान केन्द्रहरूको अवस्था बुझेका हुन्।

ललितपुर क्षेत्र नम्बर-३ मा मतदान गरेलगत्तै मन्त्री अर्याल अनुगमनमा निस्किएका थिए। काठमाडौं र ललितपुरका विभिन्न केन्द्रमा पुगेर उनले मतदातासँग सौहार्दपूर्ण संवाद गरे।

निरीक्षणका क्रममा मतदाताले गृहमन्त्रीको प्रशंसा गर्दै खुसी साटासाट गरेको देखिएको थियो। उनले मतदान अधिकृत र खटिएका सुरक्षाकर्मीसँग बुथको समग्र शान्ति सुरक्षा र मतदानको अवस्थाबारे जानकारी लिएका छन्।

टोलीले ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौंको तारकेश्वरस्थित नागर्जुन मावि र पृथ्वीनारायण मावि तथा बालुवाटारको पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको छ।

अनुगमनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र गृह प्रवक्ता आनन्द काफ्लेलगायत सहभागी थिए।

सोही क्रममा गृहमन्त्री अर्यालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलको समेत निरीक्षण गरे।

स्थलगत अनुगमनका क्रममा उनले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा मतदान भइरहेको बताएका छन्। उनले भने, ‘देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य छ।’

अनुगमन सकेर गृहमन्त्री अर्याल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचन सुरक्षाबारे ‘ब्रिफिङ’ गरेका छन्।

हाल मन्त्री अर्याल गृहमन्त्रालयको ‘कन्ट्रोल रुम’ बाटै देशभरका निर्वाचन क्षेत्रको निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App