१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

१२ वर्षदेखि रोकिएको हेटौंडा-ढल्केबर प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी सवस्टेसनको निरीक्षण गरेका छन्।

मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका दुई वटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणबारे जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डका रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिए।

करिब १२ वर्षदेखि अड्किएको हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौंडा-ढल्केबर प्रसारण लाइनको काम मन्त्री श्रेष्ठको पहलमा अगाडि बढेर अन्तिम चरणमा पुगेको बताए।

उनका अनुसार हेटौंडा-ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन्। दुई वटा मल्टिसर्किट टावर निर्माणको काम अन्तिम चरणमा छ।

‘१४ वटा टावर तयार भइसकेका छन्। बाँकी दुई वटा टावरको कार्यप्रगति राम्रो छ। १०/१५ दिनमै तयार गरेर चार्ज गर्छौं। यसलाई ब्याक बोनका रूपमा लिएका छौं। जसले गर्दा सप्लाईको रिलायबिलिटी एकदमै बढेर जान्छ। खपत पनि बढाउन सक्छौं भने निर्यात पनि बढाउन सक्छौं। दशैंलगत्तै चार्ज गर्ने तयारी छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले हेटौंडा-ढल्केबर प्रसारण लाइन नेपालको ऊर्जाको मेरुदण्डकै रूपमा रहेको बताए।

‘यहाँको लाइन चितवन हुँदै बुटवल जाने र अर्कोतिर ढल्केबर जाने टावरको काम रोकिएको थियो। १६ वटा टावरको काम विगत लामो समयदेखि १२ वर्षदेखि रोकिएको थियो। राज्यको अर्बौं रुपैयाँ खर्च भएको तर के गर्ने भन्ने अन्योलतामा सबैको सत्प्रयासले ऐतिहासिक काम पनि भएको छ। त्यसले बुटवलको लाइन इनरुवा, इनरुवाको लाइन बुटवल जानसक्ने ऊर्जाको राजमार्ग नै बन्छ। यहाँका दुई वटा टावरको चिन्ता थियो। सबै टिमको सक्रियतामा यो सम्पन्न हुने चरणमा पुगेको छ,’ उनले भने।

मन्त्री श्रेष्ठले यो प्रसारण लाइन बनिसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित र गुणस्तरीय हुने बताए।

‘यो प्रसारण लाइन चार्ज भइसकेपछि हाम्रो विश्वास के छ भने नेपालको ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय पनि हुने, मेरुदण्ड भएकोले गर्दा हामी टावरको कामको प्रगति के छ भनेर अलि अगाडिदेखि नै हेरिरहेका छौं। आज आएर हेर्दा १२ वर्षदेखि अलमल परेको प्रसारण लाइनले गति लिएको छ। ऊर्जा क्षेत्र अब स्टेबल हुन्छ। अहिले तीन सय मेगावाट क्षमता छ भने यहाँबाट ढल्केवर गइरहेको हो। यो बनिसकेपछि दुई हजार मेगावाट क्षमतामा विद्युत प्रवाह हुन्छ। यो चानचुने उपलब्धि होइन,’ उनले थप भने।

मन्त्री श्रेष्ठले हेटौंडा-ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व-पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने बताए। यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न, अन्तर्देशीय विद्युत् व्यापार बढाउन र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ। 

आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना पनि थप विस्तार हुने उनको विश्वास छ।

प्रकाशित: १८ आश्विन २०८३ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App