नेकपा (एमाले)ले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको बताएको छ।
आज भक्तपुरस्थित गुण्डुमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयको भर्त्सना गर्दै यस्तो निर्णय गरेको हो।
बैठकले योसहित तीन वटा निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। बैेठकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष ओलीलगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको उनले बताए।
साथै यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर दसैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गरेको छ। यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको एमालेले भनेको छ।
'भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' निर्णयमा भनिएको छ, 'यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दसैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ। यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ।'
प्रकाशित: १२ आश्विन २०८२ २०:५५ आइतबार





