१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले एघारौं महाधिवेशन: महासचिवमा चार जनाको दाबी

नेकपा एमालेको एघारौं महाधिवेशनमा महासचिव अध्यक्ष केपी ओली समूह र ईश्वर पोखरेल समूहबाट चार जनाले दाबी गरेका छन्। अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच अध्यक्षमा प्रतिस्पर्धा हुने निश्चित भएसँगै उनीहरू पनि प्रतिस्पर्धामा उत्रिएका हुन्।

पछिल्लो पटक पोखरेललाई सघाइरहेका र विगतमा उनै पोखरेलसँग महासचिवमा हारेका उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिवको दाबेदार रहेका छन्। संस्थापनबाट वर्तमान महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्बीसुब्बा गुरुङ प्रखर रूपमा लागेका छन्।

ज्ञवाली र गुरुङले महासचिवमा रुचि देखाएपछि ओलीलाई मिलाउन अप्ठेरो परेको छ। एक सातादेखि अध्यक्ष ओलीलाई महासचिव मिलाउन सकस परिरहेको बताइएको छ। त्यसको फाइदा उठाउने मनस्थितिमा रहेको पोखरेल समूहले पाण्डेलाई अघि सारे पनि सो विषय बाहिर ल्याइसकेको छैन। पछिल्लो पटक ‘डाटा क्यापिटालिज्म’ को व्याख्या गर्दै आएका पाण्डे यस पटक सशक्त दाबेदार हुन्। अर्थशास्त्रमा राम्रो ज्ञान भएका पाण्डेलाई पार्टीभित्र बौद्धिक नेताका रूपमा हेरिएको छ।

यसैगरी जनजातिबाट आफ्नो क्षमता प्रदर्शन गर्दै आएका गुरुङलाई ओलीले च्यापिरहेका छन्। यद्यपि ओलीले मुख खोलिसकेका छैनन्। पछिल्ला पटक ओलीको सुख र दु:खमा साथ दिँदै आएका गुरुङले महासचिवको दाबीलाई छाड्ने संकेत दिएका छैनन्। गुरुङ संगठक पनि हुन्। उद्घाटन सत्रलाई हेर्ने हो भने प्रदीप ज्ञवाली अमूर्त रूपमा ओलीका महासचिव देखिएका छन्।

ज्ञवालीले महत्त्वपूर्ण मानिने पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। विचार निर्माणमा नेतृत्वको लाइन अनुसार पार्टी चलाउन महत्त्वपूर्ण मानिने स्कुलको नेतृत्व गरेर ज्ञवाली एक/डेढ वर्षयता धेरैजसो जिल्ला पुगिसकेका छन्। वैचारिक, शालीन, सन्तुलित, लेखक, साहित्यकारसमेत भएकाले उनी सबैतिर परिचित छन्।

महासचिव पोखरेललाई नै दोहोर्‍याउने कि उपमहासचिवमध्येबाट नयाँ उम्मेदवार बनाउने भन्नेमै ओली अहिले पनि दोधारमा छन्।

पोखरेलले पुन: दोहोरिन चाहेका छन्। पोखरेल, ज्ञवाली र गुरुङ तीनै जनाले सातौं महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीबाटै ओलीलाई साथ दिँदै आएका छन्। पोखरेलले कहिल्यै ओलीको आलोचना गर्दैनन् र कुरा पनि काट्दैनन्।

मदन भण्डारी तत्कालीन महासचिव छँदै सर्वाधिक रुचाइएका पात्र पोखरेल लामो समयदेखि जनताको बहुदलीय जनवाद (जबज) को राम्रो व्याख्यातासँगै मार्क्सवादको राम्रा अध्येता र गहन विश्लेषकभित्र पर्छन् तर महासचिवजस्तो पदमा रहेर गुट निर्माणमा सक्रिय रहने गरेको, संगठन परिचालनमा क्षमता नदेखाएको जस्ता आरोप टिमभित्रैबाट लागेका कारण यसपटक निर्वाचन भए पोखरेललाई भारी पर्ने सम्भावना पनि उत्तिकै छ।

प्रकाशित: २८ मंसिर २०८२ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App