कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले चुरे संरक्षण नभएसम्म अन्नभन्डार मधेस सुरक्षित नहुने बताएका छन् । मधेसको जीवनरेखा चुरेसँग जोडिएकोले यसको संरक्षण र संवद्र्धन तर्फ तीनै तहको सरकार गम्भीर बन्नुपर्नेमा उनको जोड थियो ।
लहाननगरपालिका वडा नम्बर ६ र ७ मा नवनिर्मित व्यवसायीक भवनको बिहीबार उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘चुरे संरक्षित नभएसम्म मधेस सुरक्षित रहँदैन । मधेस सुरक्षित नभएसम्म अन्न भडार सुरक्षित हुँदैन । चुरेसँग जल जोडिएको छ, जलसँग अन्न (खाद्यान्न) जोडिएको छ ।’
मधेसलाई सिंचित बनाइ राख्न चुरेलाई जोगाइ राख्न आवश्यक रहेको बताउँदै उनले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकार मिलेर चुरे जोगाऔं । चुरे सुक्षित रहे मात्र अन्नभन्डार सुरक्षित र सिंचित रहनसक्छ ।’
सरकारले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्कालिन सामाधानका लागि पाँच सय डिप बोरिङ गर्ने योजना ल्याएपनि दीर्घकालिन समाधान भने नभएको उनको भनाइ छ । उनले भने, ‘दीर्घकालिन सामाधान त जमिनमूनीको पानीलाई सुरक्षित गर्नु नै हो । जसका लागि चुरेमै उपचार तथा संरक्षण आवश्यक छ ।’
ज्ल अभावमा पीडित बनेका मधेसका किसान अहिले मलको अभाव पनि झेलिरहेको सुनेको बताउँदै कार्यवाहक प्रधानमन्त्री सिंहले मल अभावको समस्या हटाउन पहल गर्ने आश्वासन दिए । जल र मल दुवैको समस्या सधैंका लागि समाधान गर्न दीर्घकालिन योजना आवश्यक रहेको उनको भनाइ थियो ।

उनले शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण विभागले लहान नगरपालिका वडा नं ६ र ७ मा नवनिर्मित व्यापारिक भवनको समुद्घाटन गरि लहान नगरपालिकालाई हस्तान्तरण गरेका थिए । लहानमा नवनिर्मित व्यवसायीक भवनले घरेलु, साना तथा मझौला व्यवसायी तथा उद्यमीहरुमा हौसला थपिएको चर्चा गर्दै उनले व्यवसाय तथा उद्यामलाई चलायमान बनाउन यसले मद्दत गने विश्वास व्यक्त गरे ।
लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले व्यवसायीक भनवमा स्थानीय युवा उद्यमी तथा व्यवसायीलाई स्थान दिने बताए । यो भवन निर्माणले लहानमा व्यापारिक आकर्षण थपेको उल्लेख गर्दै उनले स्थानीय, स्वदेशी तथा विदेशी उत्पादनले यस भेगका उपभोक्तालाई आकर्षित गर्ने दाबी गरे ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको लहान नगरपालिकामा संघीय सरकारको अझ लगानी भइदिए मधेसकै लोभलाग्दो सहर बन्ने नगर प्रमुख चौधरीको भनाई थियो ।

सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको १० किलोमिटर कालोपत्रे सडक अहिले लहान नगरको नमूना विकास योजनामध्ये एक रहेको चौधरीको भनाइ छ ।
सहरी विकास तथा भवन निर्माण विभागको २८ करोड ५८ लाख १० हजार १७५ रुपैयाँ लगतमा व्यवसायीक भवन र दश किलोमिटर कालोपत्रे सडक निर्माण भई बिहीबार उद्घाटन भएको छ ।
कार्यवाहक प्रधानमन्त्री सिंहले मेयर महेश चौधरीलाई व्यापारिक भवनको चाबी हस्तान्तरण गरेका थिए ।
प्रकाशित: २२ श्रावण २०८२ १५:३६ बिहीबार





