कुनै समय आफ्नो आक्रामक र ‘फायर ब्रान्ड’ अभिव्यक्तिका लागि चिनिएकी नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले उमेर र अनुभवले आफूलाई परिपक्व बनाएको बताएकी छन्।
पार्टी विभाजनदेखि मुखमा टेप टाँसेर गरेको सांकेतिक विरोधसम्मका आफ्ना विगतका कदमहरूको बचाउ गर्दै उनले बदलिएको राजनीतिक परिस्थितिसँगै आफ्नो शैलीमा पनि परिवर्तन आएको सुनाइन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै नेतृ झाँक्रीले विगतका घटनाक्रम र आफ्नो राजनीतिक यात्राबारे खुलेर चर्चा गरेकी हुन्।
विगतमा मुखमा कालो टेप टाँसेर गरेको विरोध प्रदर्शनको स्मरण गर्दै उनले भनिन्, ‘त्यो एउटा कलात्मक अभिव्यक्ति थियो। हजारौँ शब्दभन्दा एउटा दृश्य काफी हुन्छ भनेर मैले त्यो शैली अपनाएकी थिएँ।’
आफूलाई बोल्नका लागि जम्मा तीन मिनेटको समय दिइएको र त्यति समयमा आफ्ना कुरा राख्न असम्भव भएपछि सांकेतिक विरोधमा उत्रिनु परेको उनले स्पष्ट पारिन्।
तर, विगतको त्यो आक्रामक शैलीमाथि आत्मालोचना गर्दै उनले अबको अवस्था फरक रहेको सुनाइन्।
‘अहिले आएर हेर्दा अभिव्यक्तिमा केही न केही लगाम आफैँले लाउनुपर्ने रहेछ। उमेर पनि ४० प्लस भयो,’ उनले भनिन्, ‘राज्यले कानुन बनाएर गर्ने सेन्सरसिपभन्दा लोकतन्त्रमा आफ्नो सेन्सरसिप नै सबैभन्दा मजबुत हुँदो रहेछ।’
हालै एमालेमा फर्किएकी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) बाट नेपाली कम्युनिष्ट पार्टीमा गएका नेताहरूप्रति आफ्नो कुनै दुराग्रह वा घृणा नरहेको बताइन्।
‘मलाई उहाँहरूप्रति कुनै दुराग्रह पनि छैन, घृणा पनि छैन, र अब आशक्ति पनि छैन,’ उनले भनिन्, ‘म अहिले सम्यक दृष्टिमा छु।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतको समूह नवगठित नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदा महासचिव घनश्याम भुसाल पक्षले पार्टीलाई नै जीवित राख्ने प्रयास गरिरहेको छन्।
झाँक्री नेतृत्वको समूह आफ्नो पुरानो पार्टी एमालेमै फर्किएको छ।
प्रकाशित: २६ कार्तिक २०८२ १९:४८ बुधबार





