परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिटी अफ क्रिकेट धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सम्पन्न भई सम्पूर्ण कानुनी स्वीकृति प्राप्त भएकोमा उत्साह व्यक्त गरेकी छन्।
उनले यो परियोजनाले सुदूरपश्चिमवासीको आफ्नै घरआँगनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट हेर्ने सपनालाई वास्तविकतामा परिणत गर्ने विश्वास व्यक्त गरिन्। मन्त्री देउवाका अनुसार फाप्ला क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित सबै प्राविधिक तयारीहरू यसअघि नै सम्पन्न भइसकेका छन्।
उनले लेखेकी छिन्, ‘अब छिट्टै आम सुदूरपश्चिमबासीको सपनाको रंगशाला, आफ्नै घरआँगनमा बसेर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट हेर्ने आकांक्षा, वास्तविकतामा परिणत हुनेमा हामी विश्वस्त छौं।’ यो रंगशाला तथा खेलग्रामले स्थानीय स्तरमा रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र क्षेत्रीय आर्थिक गतिविधिलाई तीव्रता दिने अपेक्षा उनको छ। उनले अगाडि लेखेकी छिन्, ‘यस ऐतिहासिक परियोजनाले केवल क्रिकेट खेलको मात्र नभएर समग्र खेलकुद क्षेत्र, पर्यटन एवं खेल पर्यटन र यस क्षेत्रको आर्थिक विकासमा नयाँ युगको सुरुआत हुने विश्वास लिएका छौँ।’
यो परियोजनाले नेपालको खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने र सुदूरपश्चिमलाई विश्वस्तरमा चिनाउने अवसर प्रदान गर्ने मन्त्री देउवाको भनाइ छ।
प्रकाशित: २७ असार २०८२ २१:२० शुक्रबार





