नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत फैलिने झुटा सूचनाले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन्।
प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको शुक्रबार उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्।
उनले सामाजिक सञ्जालमा ‘फेक न्युज’ को बिगबिगी रहेको भन्दै यसलाई नियन्त्रण गर्न पत्रकारहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रूपमा विकास भइरहेका छन्। यसलाई समयमै रोक्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ।’
उनले गलत र भ्रमपूर्ण सूचनाको पहिचान गरी सत्य-तथ्य बाहिर ल्याउन पत्रकारहरूको भूमिका निर्णायक हुने बताए।
विज्ञान र प्रविधिको विकासले विश्वलाई साँघुरो बनाएको र मानवीय जीवन सहज बनाएको स्वीकार गर्दै पौडेलले प्रविधिको प्रयोग मानव हितका लागि मात्र हुनुपर्ने धारणा राखे।
उनले एआईजस्ता प्रविधिले जतिसुकै फड्को मारे पनि मानिसको ज्ञान र विवेकलाई विस्थापित गर्न नसक्ने जिकिर गरे।
‘प्रविधिको सहायताले मानिसले आफ्नो दैनिकी सहज बनाइरहेको छ, तर आफ्नै अस्तित्व समाप्त हुने गरी यसको प्रयोग हुनु हुँदैन,’ पौडेलले भने, ‘जति नै परिवर्तन आए पनि मानिस नै अन्तिम सत्य हो।’
प्रकाशित: २३ माघ २०८२ १७:४२ शुक्रबार





