अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । विराटनगरमा आयोजित कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका हुन् ।
गृहमन्त्री आर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेकाले निर्वाचनका लागि आवश्यक वातावरण तयार पारिरहेको जानकारी दिए ।
अर्यालले लोकतन्त्र र सुशासनका लागि निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे । ‘निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो । निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने भएकाले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन’, उनले भने ।
अर्यालले निर्वाचन हुन्छ हुँदैन भन्ने दुविधामा कोही नपार्न आग्रहसमेत गरे । उनले समानुपातिक उम्मेदवारको नामावली सूचीकृत भएसँगै निर्वाचन नै सुरु भइसकेको दाबी पनि गरे । आर्यालले भने, ‘समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा सूचिकृत भएसँगै निर्वाचन सुरु भइसकेको छ । अब, निर्वाचन हुन्छ की हुँदैन भन्ने दुविधामा कोही पनि पर्नुहुन्न ।’
आर्यालले निर्वाचनको वातावरणका बारेमा राजनीतिक दलहरूको मुख्य चासो रहेको लुटिएका हतियार र भागेका कैदीका विषयमा सरकारले विषेश अपरेशन चलाएर नियन्त्रण लिने स्पष्ट पारे । उनले भने, ‘राजनीतिक दलले निर्वाचन सुरक्षाको विषयमा चासो राखेको लुटिएका हतियार र भागेका कैदी फिर्ता गर्न सरकारले विशेष अपरेसन सञ्चालनको तयारी गरिरहेको छ ।’
कोशी प्रदेश स्तरिय सुरक्षा बैठकमा निर्वाचन लक्षित सुरक्षा प्रमुख एजेण्डा रहेको मन्त्री अर्यालले जानकारी दिए । गृहमन्त्रालयको कार्यभार चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले जेनजी जनआन्दोलन पश्चातको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको बताए ।
प्रकाशित: १६ पुस २०८२ १७:४४ बुधबार





