नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनको मिति सुनिश्चित भइसकेकाले सम्पूर्ण शक्ति निर्वाचन प्रक्रियामा केन्द्रित गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
बुधबार पोखरामा आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीलाई विजयी गराउन अहोरात्र खटिन निर्देशन दिएका हुन्।
निर्वाचन हुने वा नहुने भन्ने विषयमा कुनै पनि द्विविधामा नपर्न आग्रह गर्दै उनले अबको तीन हप्ता पार्टीका लागि निर्णायक हुने बताए।
‘जेन-जी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा यो निर्वाचन हुन लागिरहेको छ,’ दाहालले भने, ‘यस परिस्थितिमा नेकपाको पक्षमा परिणाम ल्याउन देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकहरू आ-आफ्नो ठाउँबाट सक्रिय हुनुपर्छ। आजैदेखि गाउँ-गाउँमा पुगेर आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुट्नुहोस्।’
संयोजक दाहालले निर्वाचनको मुखमा अन्य दलसँग चुनावी तालमेल गरेर उम्मेदवारी निष्क्रिय पारिने भन्ने हल्लाको खण्डन समेत गरे। उनले नेकपा यसपटक कुनै पनि दलसँग समीकरण वा तालमेल गर्ने पक्षमा नरहेको प्रष्ट पारे।
‘हामी चुनावी तालमेलको भ्रममा छैनौँ र कसैसँग समीकरण गर्दैनौँ,’ दाहालले थपे, ‘नेकपा आफ्नै खुट्टामा उभिएर आम जनताको विश्वास जित्दै संसद्मा सबैभन्दा ठूलो दल बन्न चाहन्छ। विपक्षीहरूले फैलाउन सक्ने भ्रमबाट सचेत रहँदै पार्टीको एजेण्डा बोकेर जनताको घरदैलोमा पुग्नुहोस्।’
भेलामा उनले पार्टीको संगठन सुदृढीकरण र चुनावी प्रचारप्रसार रणनीतिबारे समेत स्थानीय नेताहरूलाई आवश्यक सुझाव दिए।
प्रकाशित: २८ माघ २०८२ १७:०३ बुधबार





