आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुरमा प्रत्यक्षतर्फ महिलाविहीन उम्मेदवारी परेको छ। २ निर्वाचन क्षेत्र रहेको उदयपुरमा ६ गते भएको मनोनयन दर्तामा कुनै पनि महिला छैनन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार १ नं. बाट १८ र २ बाट १३ गरी ३१ जना उम्मेदवारको मनोनयन भएको छ। तर सबै पुरुष उम्मेदवारको मात्र मनोनयन भएको छ।
ठुला र पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी, पुरानै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीदेखि नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, परिवर्तन पार्टी नेपाल र आम आदमी पार्टी, मंगोल नेशनल अर्गनाइजेसनहुँदै स्वतन्त्रसम्म महिला उम्मेदवार नपरेको जनाएको छ।
क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी, एमालेबाट दुर्गाकुमार थापा, कांग्रेसबाट विदुर बस्नेत, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, मंगोल नेशनलबाट बद्रीविक्रम राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल, राष्ट्रिय जनमोर्चाबाट लिलकुमार राई, नेमकिपाबाट विष्णुबहादुर खत्री, राप्रपाबाट सुभाषचन्द्र खड्का, संयुक्त नागरिक पार्टीबाट सुरेश राईलगायत उम्मेदवारको मनोनयन परेको छ।
त्यसैगरी २ नं. मा नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई (हिमाल), एमालेबाट अम्मर रायमाझी र कांग्रेसबाट रामकुमार राई, रास्वपाबाट सूर्य तामाङ, श्रम संस्कृतिबाट बलराज राई, जसपाबाट केशव मगर, नेमकिपाबाट पूर्णबहादुर बुढाथोकी, मंगोल नेशनलबाट भास्कर राई, राप्रपाबाट विष्णुबहादुर खड्का, परिवर्तन पार्टीबाट अरुण राई, नेकपा (माओवादी)बाट दुर्गाबहादुर तामाङ र स्वतन्त्रमा मेजरकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्।
समानुपातिकतर्फ भने महिलाको उम्मेदवारी परेको छ। तर, समानुपातिकतर्फ दलहरूले पुरुष उम्मेदवारको नाम पनि उत्तिकै पठाएका छन्। बन्द सूचीमा पनि महिला र पुरुष दुवैको नाम दलहरूले पठाएका छन्।
राजनीतिक दलहरूले प्रत्यक्षतर्फ खर्च, समय र व्यवस्थापकीय कठिनाइका कारण प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी नपरेको बताउँछन्। महिलाहरू स्वाभाविक रूपमा समय, खर्च, मेहनत र अन्य व्यवस्थापकीय समस्याजस्ता विविध कारणले पनि प्रत्यक्षभन्दा समानुपातिकतर्फ मात्र प्रतिस्पर्धा गर्न रुचाउने उनीहरूको दाबी छ। प्रत्यक्षभन्दा समानुपातिकतर्फ नै आफूलाई सुरक्षित महसुस गर्ने गरेकाले पनि उम्मेदवारी नपरेको साबिक नेकपा (माओवादी केन्द्र)का उदयपुर संयोजक द्रोण पौडेल (निरज) बताउँछन्।
नेकपा कार्यदल सदस्यसमेत रहेका पौडेलले नेकपाबाट संविधानसभा सदस्यद्वय मणि खम्बु किराँती (रिवासी) र भेषकुमारी राउत (कोपिला)को नाम प्रत्यक्षतर्फ सिफारिस गरे पनि उनीहरू परेनन्। उनीहरूले आफूभन्दा वरिष्ठ र बढी सक्षम उम्मेदवार ठानेर पार्टीले टिकट दिने निर्णयमा सहमति जनाएको निरज बताउँछन्।
किराँती ०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उदयपुर २ बाट विजयी भइन्। उनको नाम १ नं. क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिसमा परेको थियो। ०६४ मै समानुपातिकतर्फ संविधानसभा सदस्य बनेकी कोपिलाको नाम पनि २ नं. बाट सिफारिसमा परेको थियो।
ठुला दलहरू, कांग्रेस, एमालेलगायत साना पार्टीहरूबाट पनि समानुपातिकमा महिलाको नाम सिफारिस भएको छ। तर, बन्द सूचीमा भने एमालेकी मञ्जु चौधरीबाहेकको नाम परेको छैन।
शुक्रबार (आज) निर्वाचन आयोगले अन्तिम उम्मेदवारको नामावली प्रकाशित गरेर चुनाव चिन्ह प्रदान गर्दैछ। दिउँसो ३:०० बजेसम्म उम्मेदवारी फिर्ता लिने समयसीमा तोकिएको छ भने ४:०० बजे अन्तिम नामावली प्रकाशन र ५:०० बजेभित्र चुनाव चिन्ह वितरण गर्ने आयोगको कार्यतालिका रहेको छ।
बागीहरू उम्मेदवारी फिर्ता नलिने अडानमा
उदयपुरमा डा. देवराज रोका (कल्याण)ले १ नं. मा एमालेविरुद्ध बागीमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। डा. रोका ०७९ देखि १ नं. मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको आकांक्षी छन्। त्यस्तै २ नं. मा तत्कालीन माओवादीका मेजरकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यद्यपि उनीहरू दुवैले पार्टीविरुद्ध नभएर स्वतन्त्र उठेको सामाजिक सञ्जालमा बताइरहेका छन्।
उनीहरू दुवैलाई उम्मेदवारी फिर्ता गराउने प्रयास भइरहेको सम्बन्धित दलका नेताहरूले बताएका छन्। तर यो समाचार तयार गर्दासम्म दुवै जना नाम फिर्ता लिने पक्षमा देखिएका छैनन्। उम्मेदवारी फिर्ता गराउने कोसिस गरिरहे पनि शर्त राख्ने गरेका कारण सहमति हुन नसकिरहेको बताइएको छ। नि:सर्त भए सफल हुने तर, सशर्त फिर्ता लिने अडानबाट उनीहरू पछि नहटेका कारण सहमति जुट्न नसकिरहेको नेताहरूले बताएका छन्।
एमाले उदयपुरका अध्यक्ष भागवत राउतले रोका एमालेको सदस्य नभएको बताए। अध्यक्ष राउतले रोका विगत ३ वर्षयता उदयपुर पार्टी सदस्यता नवीकरण नै नगरेकाले एमालेको बागी नभएर स्वतन्त्र उम्मेदवार भनेर फिर्ता लिने पहल आफूले नगरेको बताए। ‘रोकाको सदस्यता विगत ३ वर्षयता नवीकरण छैन। स्वतन्त्र उम्मेदवार भएकाले फिर्ता लिन लगाउने कुरै भएन’ अध्यक्ष राउतले भने ‘एमाले पृष्ठभूमिका भएकाले सेवा सुविधा एमालेबाट लिए पनि सदस्य हैनन्।’
अर्का स्वतन्त्र उम्मेदवार राई पनि सम्पर्कमै आउन नचाहेको नेकपाले जनाएको छ। संयोजक निरजले कुनै पार्टीबाट नभई स्वतन्त्रबाट उठेको बताए पनि माओवादी पृष्ठभूमिका भएकाले नाम फिर्ता लिइदिए केही सहज हुने भएकाले आग्रह गर्न खोजे पनि सम्पर्कमै आउन नचाहेको उनले बताए।
प्रकाशित: ९ माघ २०८२ १२:४८ शुक्रबार





