निर्वाचन नजिकिँदै जाँदा विभिन्न तहका शिक्षक तथा शैक्षिक संस्थासँग सम्बद्ध कर्मचारीहरूलाई चुनावी प्रचारप्रसारमा संलग्न नहुन निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार गरेको पाए कानुनअनुसार कारबाही हुने बताएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) अनुसार विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोसँग सम्बद्ध कर्मचारी, प्राध्यापक र शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ। यस्तै सोही दफाको खण्ड (ग) मा शैक्षिक संस्थाका सवारीसाधन, भवन वा अन्य सामग्री चुनावी प्रयोजनका लागि प्रयोग गर्न दिन, सभा–सम्मेलन आयोजना गर्न वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ।
त्यसैगरी शिक्षा ऐन, २०२८ को दफा १६ को (ङ) उपदफा (५) को खण्ड (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा पदबाट हटाइने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
आयोगले शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई ध्यानमा राख्दै आचारसंहिता विपरीत कुनै पनि चुनावी गतिविधिमा संलग्न नहुन सचेत गराएको छ।
आचारसंहिता उल्लंघन गरी निर्वाचन प्रचारप्रसारमा संलग्न भएको पाए आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गरिने आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयलाई आवश्यक अनुगमन गर्न आयोगले अनुरोध गरेको छ।
.jpeg)
प्रकाशित: ११ फाल्गुन २०८२ १७:१६ सोमबार





