नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर वा भौतिक कारबाहीको धम्की दिएर नबढ्ने टिप्पणी गरेका छन्।
शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विकास र सुशासनका लागि चाबुक नभई विधिको शासन र पद्धति आवश्यक पर्ने बताए।
केही दिनअघि सुदूरपश्चिमको धनगढीमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले समयमा काम नसक्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने भनी दिएको अभिव्यक्ति दिए। उनको सोही शैलीहरूतर्फ लक्षित गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
आफूले सञ्चालन गरिरहेको पूर्वाधार मीमांसा कार्यक्रमको अनुभव सुनाउँदै थापाले भने, ‘मैले हुलाकी राजमार्गदेखि विभिन्न आयोजनाहरूको अध्ययन गर्दा के पाएँ भने नेपालमा विकास रोकिनुको मुख्य कारण व्यक्ति मात्र होइन, ४१ वटा कानुनहरू अवरोधका रूपमा रहेका छन्। जबसम्म ती कानुनहरू बदलिँदैनन् र जसले छिटो काम गर्छ उसले ठेक्का पाउने व्यवस्था हुँदैन, तबसम्म कसैलाई रुखमा झुन्ड्याएर मात्रै काम समयमा सकिँदैन।’
राजनीतिमा पछिल्लो समय मौलाउँदै गएको पपुलिष्ट शैलीप्रति कटाक्ष गर्दै थापाले थपे, ‘अहिले बजारमा सबैलाई फटाहा भन्ने र आफ्नो हातमा मात्रै चाबुक छ भन्दै तर्साउने भाषा सुनिन्छ। ठेकेदार फटाहा, उसको पक्षमा बहस गर्ने वकिल फटाहा, फैसला गर्ने न्यायाधीश फटाहा र कानुन बनाउने सांसद पनि फटाहा भन्ने यो चिन्तनले सुधार होइन, दुर्घटना निम्त्याउँछ।’
सभापति थापाले विकास र सुधारको ग्यारेन्टी लोकतन्त्र र विधिको शासनको मूल्यमा हुन नसक्ने स्पष्ट पारे। ‘हामी सुधारको ग्यारेन्टी गर्छौं, तर लोकतन्त्रको खर्चमा होइन। विधिको शासन र पद्धतिको पालना नगरी लहडको भरमा गरिने कामले दीर्घकालीन निकास दिँदैन,’ उनले भने।
प्रकाशित: ९ फाल्गुन २०८२ १८:१२ शनिबार





