खोटाङको एक निजी विद्यालयका शिक्षक आफ्नै छात्रा बलात्कार आरोपमा पक्राउ परेका छन्। सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–१ नेले स्थायी घर भएका २४ वर्षीय टेकबहादुर खत्री १३ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका हुन्।
सदरमुकामस्थित दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत खत्री शनिबार साँझ बालिकालाई आफ्नो कोठामै बोलाएर जबरजस्ती करणी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार खत्रीले बालिकालाई होमवर्क सिकाउने भन्दै कोठामा बोलाएर जबरजस्ती करणी गरी ३ घण्टा कोठामै थुनेर राखेको पीडित पक्षको आरोप छ।
करणीपछि ३ घण्टा खत्रीकै कोठामा थुनिएकी बालिका छुटकारा पाएलगत्तै रुँदै घर पुगेपछि मात्र घटनाबारे अभिभावकले थाहा पाएका थिए। शिक्षकबाट घटनाबारे जानकारी पाएलगत्तै प्रहरी बोलाएर खत्रीलाई कोठाबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
शनिबार राति नै जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराई आइतबार पीडकविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पीडित पक्षका अनुसार गत मङ्सिरमा विद्यालयले शैक्षिक भ्रमण लगेको बेलादेखि नै शिक्षक खत्री बालिकाप्रति गिद्धेदृष्टि लगाउने गरेका थिए। कुनै बहाना बनाएर नजिकिन खोज्ने, केही सिकाउन चाहेजस्तो गर्ने गरे पनि गुरु–चेलाबlचको सम्बन्ध ठानेर अभिभावकले बेवास्ता गरे पनि अन्ततः अप्रिय घटना घटाएरै छाडेको पीडा उनीहरूले पोखेका छन्।
घटनाबारे बोर्डिङले एक विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेको छ। शिक्षक खत्रीबाट बालिकामाथि भएको जघन्य अपराधको निस्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न पीडितको सुरक्षा र न्यायको निम्ति सम्बन्धित निकायसँग विज्ञप्तिमा माग गरिएको छ।
आफ्नै छात्रा बालिकामाथि शिक्षक खत्रीबाट भएको अप्रिय घटना कल्पनाभन्दा बाहिरको भएको भन्दै विज्ञप्तिमा शिक्षक–विद्यार्थीबिचको पवित्र सम्बन्धलाई खत्रीले अपवित्र बनाएकाले कानुनी कारबाहीको भागीदार हुनुपर्ने तथा बालिकाको भविष्य सुरक्षित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
बलात्कार अभियोगमा मुद्दा दर्ता गरेको प्रहरीका अनुसार खत्रीमाथि मुलुकी अपराधसंहिता बमोजिम कारबाही प्रक्रिया अघि बढाएको छ। संहिताको ‘मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ’ भन्ने उल्लेख भएकाले सोही अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुलुकी अपराध संहिताको दफा २१९ मा १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
प्रकाशित: १० फाल्गुन २०८२ २१:३८ आइतबार





