प्रतिनिधिसभा सदस्य निर्वाचन संघारमा आइपुगेको छ। २०७९ मंसिरमा पाँच वर्षका लागि जिताएर पठाएका दल र नेता तीन वर्षमै फेरि मत माग्न घरदैलोमा पुगेका छन्।
मतदातामा विगतमा जस्तो उत्साह नभए पनि मतदान गर्ने दिन फागुन २१ आउन अब १० दिन मात्र बाँकी छ। जेन-जी विद्रोहका कारण नियमितभन्दा दुई वर्षअघि नै हुन लागेको निर्वाचनमा मतदातालाई रिझाएर परिणाम आफ्नो पक्षमा पार्न दल र उम्मेदवार अन्तिमअन्तिम कसरतमा जुटेका छन्।
विगतका कमीकमजोरी स्वीकार गर्दै नयाँ बाचा/प्रतिबद्धतासहित दल/उम्मेदवार घरदैलो/अन्य माध्यमबाट प्रचारप्रसारमा सक्रिय छन्।
उम्मेदवारलाई जनताले तिखा प्रश्न गरिरहेका छन्। यस पटक परम्परागत मत माग्ने प्रक्रियाबाट माथि उठेर दल र उम्मेदवारले डिजिटल प्रविधिको पनि भरपुर प्रयोग गरेका छन्। केही मतदाताले कसलाई मत दिने भन्ने सोच बनाइसकेका छन् भने केही सोच बनाउँदै छन्।
यस पटकको निर्वाचनमा घरपरिवारको मत घरमुलीभन्दा पछिल्लो पुस्ता अर्थात् छोरा/छोरी, नातिनातिनाले प्रभावित गर्ने देखिएको छ। विदेशमा रहेका युवाले पनि घरपरिवारका बुबाआमालगायत सदस्यलाई कुन पार्टी र उम्मेदवारलाई किन मतदान गर्ने भनेर बुझाइरहेका छन्।
युवा पुस्ताको राय मान्न माथिल्लो पुस्ता तयार नभए भावनात्मक मोलमोलाइ गरेर धम्क्याउने काम पनि भएको पाइएको छ। यसले पनि निर्वाचनमा परिणाममा अनपेक्षित प्रभाव पार्ने देखिन्छ।
विगतका निर्वाचनमा अपवादबाहेक परिवारका सदस्यले घरमुलीले भनेका उम्मेदवार र दललाई मतदान गर्ने परम्परा जस्तै थियो। सोहीअनुसार दल र उम्मेदवारले आ-आफ्नो प्रभाव क्षेत्र र मतको आकलन गर्थे। तर यस पटक त्यो क्रम भत्केको छ, घरमूलीले होइन, सबैभन्दा पछिल्लो पुस्ताले बुबा, आमा, हजुरबुबा, हजुरआमासहित परिवारका अन्य सदस्यलाई आफूले भनेको दल वा उम्मेदवारलाई मत दिन तयार पारेको देखिन्छ।
निर्वाचन संघारमा आइपुग्दा पनि लाखौं मतदाता विदेशमा छन्। यो निर्वाचनमा पनि उनीहरूले त्यहाँबाट मतदान गर्न नपाउने भएका छन्। सबै दलले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिने बताए पनि कार्यान्वयन पक्षमा चासो दिएका छैनन्।
विदेशमा रहेका नेपालीले पनि यो निर्वाचनमा मत प्रभावित पार्ने देखिएको छ। उनीहरूले २०७९ को निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा प्रभावित पार्ने मत संख्या निकै बढ्ने अनुमान छ। उनीहरू परिवारसहित नातापाताको मत पनि प्रभावित पार्न सक्रिय छन्।
विदेसिएका नेपाली, जसले देश नेताले होइन, नीति र प्रणालीले सञ्चालन भएको देखेका छन्, मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन्।
उनीहरू यो निर्वाचनमा आफूले चाहेको दल र उम्मेदवारलाई मत दिन परिवारका सदस्य र नातागोतालाई आग्रह मात्र होइन, हस्तक्षेपकारी दबाब दिइरहेका छन्। अपवादबाहेक विदेशमा रहेका नेपाली परिवारको भरणपोषणको मुख्य स्रोत हुन्।
महिलामा आएको जागरणले पनि यस पटक निर्वाचन नतिजा प्रभावित हुन सक्छ। घरका अन्य सदस्यको मत प्रभावित गर्ने कुरामा महिलाको भूमिका थप सशक्त हुन सक्छ। दल र उम्मेदवारले गरेका सभा र कार्यक्रममा महिलाको बाक्लो उपस्थिति देखिन्छ।
उम्मेदवारको व्यक्तित्व, योग्यता, क्षमता, योगदान, दलले अघि सारेका योजना, कार्यक्रमका आधारमा मतदाताले आफ्ना प्रतिनिधि छनोट गर्नुपर्ने हो।
योग्य जनप्रतिनिधि छनोट गर्नु नै लोकतन्त्रको सबल र सुन्दर पक्ष हो।
तर नागरिक योग्य होइन जात, क्षेत्र, भूगोल र धर्मका आधारमा मतदान गर्ने अवस्थामा पुगेका छन्। उम्मेदवारहरू पनि पहिला जस्तो टोल र स्थानीय युवा क्लब वा समूहलाई होइन, विभिन्न धर्मका नाममा खुलेका संस्था, धर्मगुरुलाई आफ्नो पक्षमा पार्न लागिपरेका छन्।
उनीहरूले नीति, नियम र सुधार होइन, क्षेत्र र जातलाई प्राथमिकता दिइरहेका छन्। यसले निर्वाचनमा समानुपातिक मात्र होइन, प्रत्यक्षतर्फको परिणाम पनि प्रभावित हुने देखिएको छ।
यसबाट परम्परागत दल बढी प्रभावित हुन सक्ने विश्लेषण गर्न थालिएको छ।
प्रकाशित: १० फाल्गुन २०८२ २२:१३ आइतबार





