विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित पक्राउ परेका छन्। स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेको मोरङ प्रहरीकी डिएसपी कोपिला चुँडालले जानकारी दिइन्।
विराटनगरबाट काठमाडौं उड्न लागेका यात्रुको नियमित जाँचका क्रममा शनिबार भारतीय नागरिक पक्राउ परेका हुन्। श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारत पश्चिम बंगालको माल्दा जिल्ला सुजागञ्ज घर भएका ३६ वर्षीय मोहिदिल अलीले बोकेको झोलाभित्र नेपाली १५ लाख ९८ हजार रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिएको डिएसपी चुँडालले बताइन्।
त्यस्तै, प्रहरीले शुक्रबार राति ८ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङ पक्राउ परेका थिए। उनी बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला नियमित सुरक्षा जाँचका क्रममा पक्राउ परेका हुन्।
तामाङको साथबाट नेपाली ११ लाख रुपैयाँ बरामद भएको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘पक्राउ परेका दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ फेला परेको छ। शंकास्पद रूपमा ठूलो रकम फेला परेपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिएका हौं। बरामद रकमको स्रोत खुलाउने कुनै कागजात उनीहरू नभएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान थालेका छौं।’
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरुको साथबाट फेला परेको नगदको स्रोत खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
राजस्व छली, अवैध कारोबार, हुण्डी, लागुऔषध कारोबार वा अन्य आपराधिक गतिविधिबाट प्राप्त रकम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाकर्मीले यस्ता घटनामा कडाइ गर्ने गरेका छन्। त्यसैले ठूलो रकम बोक्दा त्यसको स्रोत खुलाउने कागजात, बैंक विवरण वा कारोबारसम्बन्धी प्रमाण साथमा राख्नुपर्ने डिएसपी चुँडालले बताइन्।
प्रहरीले दुवै व्यक्तिको आर्थिक गतिविधि, सम्भावित नेटवर्क र रकमको वास्तविक स्रोतका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाएको छ। अनुसन्धानबाट मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी चुँडालले दिइन्।
प्रकाशित: २० वैशाख २०८३ ०९:४९ आइतबार




