५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
शिक्षा

एसइई नतिजा: १ लाख ४६ हजारभन्दा बढी परीक्षार्थी ‘एनजी’

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थी ‘एनजी’ (नन ग्रेडेड) मा परेका छन्।

नयाँ लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ न्यूनतम अङ्क ल्याउन नसक्दा ठुलो सङ्ख्यामा विद्यार्थीहरू अवर्गीकृत हुन पुगेका हुन्।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थीको नतिजा निकालिएको थियो। जसमध्ये २ लाख ८४ हजार १ सय ६० जना (६५.९८ प्रतिशत) परीक्षार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन्।

परीक्षामा सहभागीमध्ये झन्डै ३४ प्रतिशत विद्यार्थीले कुनै न कुनै विषयमा न्यूनतम अङ्क ल्याउन नसकेपछि उनीहरूको नतिजामा ‘एनजी’ आएको हो।

नयाँ व्यवस्थाअनुसार प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने प्रावधान छ। तोकिएको न्यूनतम अङ्क प्राप्त गर्न नसकेका परीक्षार्थीको मार्कसिटमा ‘एनजी’ उल्लेख गरिएको बोर्डले जनाएको छ।

‘एनजी’ आएका विद्यार्थीहरूले सोझै कक्षा ११ मा भर्ना हुन पाउने छैनन्, उनीहरूले तोकिएको नियमअनुसार ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।

उत्तीर्ण भएका विद्यार्थीहरूको विवरणअनुसार सबैभन्दा उच्च जिपिए (३.६० देखि ४.०० सम्म) ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ।

त्यस्तै, जिपिए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्।

जिपिए २.८० देखि ३.२० सम्म प्राप्त गर्ने विद्यार्थी सबैभन्दा धेरै ९४ हजार २ सय २२ जना छन्। यस्तै, जिपिए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ५५ हजार ९ सय ७७ र जिपिए २.०० देखि २.४० सम्म ल्याउने ५ हजार १ सय ९० जना रहेका छन्।

सबैभन्दा कम अर्थात् जिपिए १.६० देखि २.०० सम्म जम्मा ७ जना मात्र परेका छन्।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको यसपटकको परीक्षाको उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो। जसका कारण अघिल्ला वर्षहरूभन्दा छिटो नतिजा प्रकाशन सम्भव भएको हो।

विद्यार्थी तथा अभिभावकले नेपाल टेलिकमको १६०० सहित विभिन्न ‘एसएमएस’ सेवा, ‘आइभीआर’ र राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटलगायत तोकिएका १४ वटा प्लेटफर्ममार्फत आफ्नो नतिजा र मार्कसिट हेर्न सक्नेछन्।

प्रकाशित: २८ वैशाख २०८३ २१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App