दुर्गम पर्यटकीय बस्ती याङ्माको कठिन यात्रालाई सहज बनाउन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको ढासापारमा आश्रयस्थल निर्माण गरेको छ।
ओलाङचुङगोला-याङ्मा पदमार्गको झण्डै मध्यभागमा बनेको यस आश्रयस्थलमा पदयात्री तथा बटुवाका लागि सुत्न म्याट र खाना पकाउन भाँडावर्तनसहितका बन्दोबस्तीका सामग्री राखिएको छ।
ओलाङचुङगोलाबाट हिँडेर एकैदिनमा याङ्मा पुग्न नसक्नेहरूले यसलाई सुरक्षित बासस्थानका रूपमा प्रयोग गर्न सक्नेछन्।
फक्ताङलुङ गाउँपालिका वडा नं-७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले आश्रयस्थल र त्यहाँ उपलब्ध सामग्रीको जतनका साथ प्रयोग गरी सुरक्षित राखिदिन पदयात्री तथा बटुवाहरूसँग आग्रह गरेका छन्।
आश्रयस्थललाई दिगो रूपमा सञ्चालन गर्न र यात्रालाई थप सुरक्षित बनाउन उनले सम्बन्धित सबैसँग सहयोगको अनुरोध समेत गरेका छन्।
ओलाङचुङगोलाबाट करिब ३० किलोमिटर उत्तरतर्फ पर्ने याङ्मा जिल्लाकै अत्यन्त दुर्गम बस्ती मानिन्छ। समुद्र सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको यो बस्ती पदमार्गबाहेक यातायात, सञ्चार र विद्युत्जस्ता न्यूनतम आधारभूत सुविधाबाट अझै वञ्चित छ।
साविक ओलाङचुङगोला गाविस वडा नं-९ मा पर्ने यस बस्तीमा सुरुवाती समयमा १७ घरपरिवारको बसोबास रहेकोमा हाल १०-११ परिवार स्थायी रूपमा बस्दै आएका छन्।
प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले भरिपूर्ण याङ्मा पछिल्लो समय पदयात्रीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ।
मनोरम प्राकृतिक छटाले युक्त यस क्षेत्रको आउ-जाउलाई थप व्यवस्थित र सहज बनाउन ढासापारमा आश्रयस्थल निर्माण गरिएको वडाध्यक्ष शेर्पाले बताए।
प्रकाशित: ७ कार्तिक २०८३ १८:१३ शनिबार





