नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भइसकेकाले अब छैटौँ पटक प्रधानमन्त्री बन्ने आकांक्षा त्याग्नुपर्ने बताएका छन्।
उनले देउवाको राजनीतिक योगदानको सम्मान गर्दै अब अभिभावकीय भूमिकामा रहनुपर्ने बताएका हुन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको छैटौँ दिन बोल्दै शर्माले देउवा निकट र असहमत दुवै पक्षलाई सही सल्लाह दिन नसकेको भन्दै पूर्वप्रधानमन्त्री सुशील कोइरालाको उदाहरण दिँदै राजनीतिक जीवनको एउटा चरणमा त्याग गर्न सके नेताको व्यक्तित्व अझ उचाइमा पुग्ने बताए।
कोइरालाले संविधान निर्माणपछि अभिभावकीय भूमिकामा रहेर बिदाइ लिन सकेको भए उनको राजनीतिक उचाइ अझ बढ्ने भन्दै देउवाले पनि अब त्यस्तै भूमिकामा आफूलाई लैजानुपर्ने उनले बताए।
शर्माले सानेपामा बैठक बस्ने कांग्रेसका नेताहरू देउवाका विरोधी नभई राजनीतिक जीवनका सहकर्मी भएको बताए। साथै देउवाको नेतृत्वमा कमैया मुक्ति, सुदूरपश्चिमलाई राष्ट्रिय मूलधारसँग जोड्ने प्रयास तथा दलित आयोग र महिला आयोगजस्ता संरचनाको स्थापना भएको स्मरण गर्दै शर्माले प्रधानमन्त्री बन्ने आकांक्षाले राजनीतिक योगदानसमेत ओझेलमा पर्ने बताए।
शीर्ष नेताहरूले सम्मानजनक रूपमा अभिभावकीय भूमिका हुने भन्दै पछिल्ला राजनीतिक असन्तुष्टि र विद्रोहको अवस्था फरक हुन सक्ने बताउँदै पुरानो नेतृत्व निरन्तर सत्तामा दोहोरिइरहँदा कांग्रेसभित्र ‘म्युजिकल चेयर’ को देखिएको रहने उनको भनाइ थियो।
प्रकाशित: २९ श्रावण २०८३ १३:१८ शुक्रबार





