नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाको स्वदेश आगमनले कांग्रेसलाई एकताबद्ध र सुसंगठित बनाउने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।
लेखकले कांग्रेस अहिले मानसिक रूपमा विभाजित र संगठनात्मक रूपमा खण्डित हुने जोखिमपूर्ण अवस्थामा रहेको भन्दै पार्टी एकताका लागि सबै पक्षले गम्भीर प्रयास गर्नुपर्ने बताए।
‘आदरणीय नेता शेरबहादुर देउवाजीको स्वदेश आगमनले नेपाली कांग्रेसलाई एकताबद्ध गर्ने, सुसंगठित गर्ने र देशका महत्वपूर्ण विषय सम्बोधन गर्ने अवस्था बनोस् भन्ने कामना गर्दछु,’ लेखकले भने।
उनले देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुने विश्वास गर्न कांग्रेसका नेता–कार्यकर्ता मात्रै नभई देशभरका लोकतन्त्रमा विश्वास गर्ने सबैलाई आग्रह गरे।
लेखकले पार्टी एकताका लागि यसअघि पनि विभिन्न प्रयास भए पनि अपेक्षित परिणाम हासिल हुन नसकेको बताए। विशेष महाधिवेशनको माग उठेपछि त्यसलाई रोक्न पार्टीका शीर्ष नेताहरूले प्रयास गरेको बताए।
उनले ती प्रयासले पार्टीलाई अपेक्षित रूपमा एकताबद्ध गर्न नसकेको र विशेष महाधिवेशनले पार्टीलाई मानसिक रुपमा मात्रै नभई संगठनात्मक रूपमा समेत विभाजनतर्फ लैजाने प्रयास भएको बताए।
‘विशेष महाधिवेशनले पार्टीलाई विघटन र विभाजनतर्फ लैजान सक्छ भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौँ। नियमित महाधिवेशनको मिति र अधिवेशनको क्यालेन्डरसहित सार्वजनिक गरिसक्दा पनि हामी परिणाममा पुग्न सकेनौँ,’ उनले भने।
लेखकले विशेष महाधिवेशन रोक्न नसक्नु पार्टीको असफलता वा कमजोरी भएको स्वीकार गर्दै अब त्यस विषयमा व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा पार्टीलाई एकताबद्ध बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
उनले नेतृत्व परिवर्तन वा हस्तान्तरणको प्रश्न उठे पनि त्यसको स्वाभाविक र वैधानिक प्रक्रिया महाधिवेशनबाटै हुनुपर्ने बताए। देउवाले सभापतिका रूपमा पुनः प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेको अवस्थामा नियमित महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको बाटो खुला रहेको उनको भनाइ थियो।
‘सन्तानको जन्म पनि स्वाभाविक रूपमा अवधि पूरा भएपछि हुँदा ठीक हुन्छ। नेतृत्व परिवर्तन र हस्तान्तरणको प्रश्न पनि स्वाभाविक र वैधानिक प्रक्रियाबाट हुनुपर्छ,’ लेखकले भने।
देशको वर्तमान अवस्था जटिल रहेको भन्दै उनले यस्तो समयमा कांग्रेस सम्पूर्ण रूपमा एकताबद्ध, अनुशासित र सुसंगठित भएर राष्ट्रिय एजेन्डा सम्बोधन गर्नुपर्ने बताए। उनले पार्टीभित्र देखिएको विवादले कांग्रेसलाई कमजोर बनाउने भएकाले सबै नेता–कार्यकर्ताले व्यक्तिगत मतभेदभन्दा माथि उठेर पार्टी एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए।
‘आज नेपाली कांग्रेस मानसिक रूपमा विभाजित र संगठनात्मक रूपमा खण्डित हुन सक्ने जोखिमको डिलमा उभिएको छ। यस्तो अवस्थामा पार्टी एकताबद्ध, अनुशासित र सुसंगठित भएर देशका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्नुपर्छ,’ लेखकले भने।
प्रकाशित: २९ श्रावण २०८३ १७:३१ शुक्रबार





