३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

भूमिकास्थानका बाख्रामा पीपीआर पुष्टि : दुई मरे, २० बिरामी, उच्च सतर्कता अपनाउन आग्रह

अर्घाखाँचीमा बाख्रामा रोग फैलिएपछि उच्च सतर्कता अपनाइएको छ। भूमिकास्थान नगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रालाई लाग्ने संक्रमण पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

हालसम्म पीपीआरका कारण दुई वटा बाख्रा मरेको र करिब २० वटा बाख्रामा संक्रमण पुष्टि भएको पाइएको छ। भूमिकास्थान नगरपालिका–४, ५ र ८ मा किसानले पालेका केही बाख्रामा पीपीआर रोग लागेको पुष्टि भएको हो।

प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को मकैडाँडा, बिष्टबारी वडा नम्बर–५ को असुरकोट तथा वडा नम्बर–८ को नुवाकोट, उप्रिकोट क्षेत्रलाई सिल गरिएकोतथा त्यहाँका किसान तथा पशुपालकलाई सतर्क गराईएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए। ‘अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न निर्देशन दिइएको छ,' प्रजिअ सुवेदीले भने, ‘आदेश उल्लंघन नहोस् भनेर स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ।’

रोग महामारीका रूपमा फैलिन सक्ने जोखिम देखिएपछि नगरपालिकाले प्रभावित क्षेत्रका बाख्रा ओसारपसारमा रोक लगाउनुका साथै संक्रमित पशुलाई अलग्गै राखेर उपचार तथा व्यवस्थापन गरेको छ। रोग थप क्षेत्रमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासनसंगै नगरपालिकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रशासनले किसानले पालेका सबै बाख्रा तथा भेंडामा पीपीआर रोगविरुद्धको खोप अनिवार्य रूपमा लगाउन र आवश्यक परेमा सम्बन्धित स्थानीय तह तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सम्पर्क गर्नसमेत आग्रह गरेको छ।संक्रमित बाख्रामा रोगका लक्षण देखिनासाथ छुट्टै स्थानमा आइसोलेसन गरी उपचारको व्यवस्था गर्न प्रशासनलेभ भनेको छ।

संक्रमित बाख्राको मासु बेचबिखन हुने जोखिम रहेकाले सचेत रहन सबैलाई आग्रह गरिएको छ। नगर्न र नगराउन प्रशासनले स्पष्ट निर्देशन दिएको छ। किसानलाई आफ्नो गोठमा रहेका बाख्राको स्वास्थ्य अवस्थाप्रति नियमित निगरानी गर्न, बिरामी पशुलाई स्वस्थ पशुबाट अलग राख्न र अस्वाभाविक लक्षण देखिए तत्काल पशु स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरिएको छ।

प्रकाशित: २९ श्रावण २०८३ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App