राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ नेता रवीन्द्र मिश्रले राजसंस्था देश चलाउनका लागि नभई संकटको बेला देश बचाउनका लागि आवश्यक पर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर राख्दै राजा आएर मात्रै भ्रष्टाचार रोकिने र सुशासन आउने नभई संकटमा राष्ट्रिय एकता कायम गर्न राजसंस्था चाहिएको बताएका हुन्। ‘राजा आएर भ्रष्टाचार रोकिन्छ त ? राजा आएर सुशासन आउँछ त ? के फरक पर्छ राजा आएर ?’ यी प्रश्नहरूको सामना आफूले धेरै पटक गरेको उनले उल्लेख गरेका छन्।
नेपालजस्तो भूराजनीतिक र आन्तरिक रूपमा संवेदनशील देशमा ठूला संकट आउनसक्ने भन्दै उनले त्यस्तो बेला पार्टी, राजनीति, जातजाति र धर्मभन्दा माथि उठेको राष्ट्रिय एकताको प्रतीक आवश्यक पर्ने बताएका छन्। लक्जेम्बर्ग, बेल्जियम, बेलायत र जापानजस्ता विकसित प्रजातान्त्रिक देशले पनि देश चलाउनका लागि नभई संकटका बेला देश बचाउनकै लागि राजसंस्था जोगाएर राखेको उनको भनाइ छ।
नेपालमा राजसंस्था फाल्नु ऐतिहासिक भूल भएको उल्लेख गर्दै मिश्रले भनेका छन्, ‘नेपालजस्तो देशमा राजसंस्था फाल्नु ऐतिहासिक भूल थियो। त्यो गल्ती नसुधार्ने हो भने अर्को 'भदौ २४' या त्यो भन्दा ठूलो संकट आउँदा देशको अभिभावक कोही नहुन सक्छ।’
हेर्नुस् उनको एक्स पोस्ट
राजा आएर भ्रष्टाचार रोकिन्छ त?
राजा आएर सुशासन आउँछ त?
के फरक पर्छ राजा आएर?
यी मैले धेरै सामना गर्ने प्रश्न हुन्।
राजसंस्था देश चलाउन होइन, संकटका बेला देश बचाउन ल्याउने हो।
भूराजनीतिक र आन्तरिक परिवेश दुवै बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालजस्तो राष्ट्रको जीवनमा ठुला-ठुला संकट आउँछ-आउँछ। त्यस्तो बेलामा पार्टी, राजनीति, जातजाति, भाषाभाषी, धर्म-संस्कृतिभन्दा माथि देशभक्ति र राष्ट्रिय एकताको प्रतिकका रूपमा you need an institution that people can look up to with respect, trust and confidence भनेर ल्याउने हो।
उदाहरणका लागि: लक्जेम्बर्ग, बेल्जियम, बेलायत, जापान या कुनै पनि विकसित प्रजातान्त्रिक देशले राजसंस्था पालेर/सुधारेर/जोगाएर राखेको देश चलाउन होइन। संकटका बेला देश बचाउन हो।
देशको जीवनमा अनपेक्षित रूपमा ठूला संकट आउन सक्छ। त्यति बेला देश बचाउन, कतिपय कमजोरीका अलावा, राजसंस्था आवश्यक पर्छ भनेर उनीहरूले सो संस्थाको संवर्द्धन गरेका हुन्। नत्र ती देशहरूले राजसंस्था राख्नुपर्ने कुनै कारण नै छैन।
यसो भन्दै गर्दा, गणतान्त्रिक देशमा चाहिँ राष्ट्रिय अभिभावक हुँदैनन् त? भन्ने प्रश्न उठ्छ नै। देशले आ-आफ्नो परिवेश अनुरूप यस्ता निर्णयहरू लिने हो।
नेपालजस्तो देशमा राजसंस्था फाल्नु ऐतिहासिक भूल थियो। त्यो गल्ती नसुधार्ने हो भने अर्को 'भदौ २४' या त्यो भन्दा ठूलो संकट आउँदा देशको अभिभावक कोही नहुन सक्छ।
मैले बुझाउन सकेँ कि सकिनँ, कुन्नि ?
प्रकाशित: २९ श्रावण २०८३ ०९:४९ शुक्रबार



-600x400.jpg)

