२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगलाई कृष्ण सिटौलाको प्रश्‍न: गगनलाई सभापति भन्दा शेरबहादुर देउवालाई सोध्नुपर्दैनथ्यो ?

‘नेपाल त्रासमा बाँचिरहेको छ, समस्या समाधानका लागि कांग्रेस एक हुनुपर्छ’

राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुक अहिले विभिन्न कोणबाट उत्पन्न प्रश्न र त्रासबीच अघि बढिरहेको भन्दै समस्या समाधानका लागि कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले देशमा आर्थिक समृद्धि र प्रगति हासिल गर्दै गरिब, निमुखालगायत सबै नेपाली नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने बताए। संविधानका आधारभूत सिद्धान्तलाई राज्यले पालना गर्नुपर्ने उनको भनाइ थियो।

“देशको आर्थिक समृद्धि होस्, प्रगति होस्, गरिब, निमुखालगायत नेपाली नागरिकको जिम्मेवारी राज्यले व्यहोरोस्। संविधानका आधारभूत सिद्धान्तलाई राज्यले पालना गरोस् भन्ने हो,” सिटौलाले भने।

उनले नेपालको राजनीतिक यात्रा संविधानका यिनै मूल विषयको सेरोफेरोमा अघि बढेको बताए। संविधान समय र परिस्थितिअनुसार संशोधन हुँदै जाने दस्तावेज भए पनि संविधानमा उल्लेखित समग्र विषयलाई समयअनुकूल ढंगले कार्यान्वयन र अघि बढाउन नसकिएको उनको टिप्पणी थियो।

वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै सिटौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमतको सरकार रहेको उल्लेख गरे। “अहिले रास्वपाको बहुमतको सरकार छ। उहाँहरूको घैँटोमा घाम लागोस्, यत्ति भन्छु,” उनले भने।

कांग्रेसको आन्तरिक अवस्थाबारे बोल्दै सिटौलाले पार्टी विगतमा विभिन्न चरण र परिस्थितिबाट गुज्रँदै आएको स्मरण गरे। विभिन्न महाधिवेशनपछि विधान संशोधनलगायतका काम गर्दै पार्टी अघि बढे पनि अहिले कांग्रेसभित्र मन बाझिएको उनको भनाइ थियो।

“अब हामी कांग्रेसको कुरा गर्दा विगतदेखि विभिन्न अवस्थामा गुज्रिएका छौँ। विभिन्न महाधिवेशनपछि विधान संशोधनसहितको काम गर्दै अघि बढ्यौँ। तर अहिले मन बाझिएको छ,” उनले भने।

सिटौलाले मुलुक अहिले एकखालको त्रासमा रहेको बताए। विभिन्न कोणबाट अनेकौँ प्रश्न उठिरहेको अवस्थामा कांग्रेसजन एक भएर समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

“अहिले नेपाल एक खालको त्रासमा बाँचिरहेको छ। अनेकौँ कोणबाट अनेक प्रश्न छन्। तर हामी कांग्रेसजन एक भएर समस्याको समाधान आवश्यक छ। त्यसका लागि हामीले नै नेतृत्व गर्नुपर्छ,” सिटौलाले भने।

कांग्रेसभित्र एकताको विषयमा समेत उनले प्रश्न उठाए। एकता केवल नाराबाट सम्भव नहुने भन्दै नीति, विचार र सिद्धान्तका विभिन्न चरणबाट गुज्रिएर मात्रै पार्टी एकताबद्ध हुने उनको भनाइ थियो।

यसै क्रममा उनले निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति समेत प्रश्न उठाए। कांग्रेसभित्रको नेतृत्व विवादमा आयोगले निर्णय गर्दा सम्बन्धित पक्ष र पार्टीको आधिकारिक विवरणलाई पर्याप्त रूपमा अध्ययन गर्नुपर्ने उनको धारणा थियो।

“गगनजीहरू जानुभयो, सभापति भएँ भन्नुभयो। यत्ति भनेका आधारमा आयोगले प्रमाणपत्र दिन पर्दैन? शेरबहादुरलाई सोध्न पर्दैन?” सिटौलाले प्रश्न गरे।

उनले कांग्रेसको आधिकारिक नेतृत्वबारे निर्णय गर्दा पार्टीको विधान, प्रक्रिया र सम्बन्धित पक्षसँगको तथ्यगत विवरणलाई आधार बनाउनुपर्ने संकेत गरे। पार्टीभित्र देखिएको विवादलाई विधि र प्रक्रियाबाट समाधान गर्दै कांग्रेसलाई पुनः एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २९ श्रावण २०८३ १८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App