१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

देउवा सबैभन्दा निकट र विश्वासिला, दाहाल धोकेबाज: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको बताएका छन्।

वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्। यसैगरि, पूर्वसहकर्मी तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने उनले ‘धोकेबाज’ का रुपमा चित्रण गरे।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आफ्नो विरोधी नै नभएको जिकिर गर्दै ओलीले आफ्नो मुख्य राजनीतिक प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको उल्लेख गरे।

‘प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बिचमा छ,’ ओलीले भने, ‘तर मेरो सबभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ।’ उनले आफ्नो तर्फबाट देउवासँगको सम्बन्ध सधैँका लागि रहने तर देउवाले अन्यथा गरेमा परिस्थिति फरक हुन सक्ने संकेत गरे।

दाहालसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले भने- ‘स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो। उहाँले पनि धेरै पल्ट भन्नुभएको हो, धेरै पल्ट धोका दिनुभएको हो।’ उनले दाहालसँग पटक-पटक लिखित सहमति भए पनि ती अर्थहीन भएको सुनाए।

आफ्ना विपक्षीहरूप्रति निर्मम भएको भन्ने आरोपलाई अस्वीकार गर्दै ओलीले आफू प्रतिस्पर्धामा उत्रिने तर व्यक्तिगत रूपमा कसैप्रति त्यस्तो नभएको उल्लेख गरे।

आफ्नो कमजोरीबारे सोधिएको अर्को प्रश्नमा उनले आफूले मानिसहरूलाई सजिलै विश्वास गर्ने र कहिलेकाहीँ धोका खाने गरेको स्वीकारे।

उनले आफूलाई घेर्ने मानिसहरू (सर्कल) छनोट गर्न नआएको भन्ने कुरालाई भने अस्वीकार गरे। ‘सर्कल भनेको मैले विश्वास गरेको निकटवर्तीहरूको मात्रै कुरा गर्दिनँ,’ उनले भने, ‘अलिक परसम्मका सम्बन्धहरूमा पनि मैले विश्वास गर्छु।’

प्रकाशित: १ श्रावण २०८२ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App