२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विवादित दर्जन मन्त्रीमाथि छानबिन गर्न अध्यक्ष लिङ्देनको माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने मागसहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।  

बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘भ्रष्टाचार कर्मचारीतन्त्रमा मात्र होइन, अहिले विवादमा आएका एक दर्जन मन्त्रीको छानबिन गर्नुपर्ने अवस्था आएको छ, भ्रष्टाचार कहाँ-कहाँ छ? भन्ने होइन, कहाँ छैन भनेर खोज्नुपर्ने आवश्यकता छ।’ भ्रष्टाचार अन्त्यका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउनुपर्ने उनको माग छ। उनले केही कर्मचारीलाई कारबाही गरेर भ्रष्टाचार अन्त्य नहुने बताउँदै राजनीतिक क्षेत्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बिन्दावासिनी कंसाकारले भनिन्, ‘बारा, पर्सा, महोत्तरीलगायत मधेसका जिल्लामा आज चापाकल सुकेका छन्, रोपाइँ हुन सकेको छैन, पिउने पानीका लागि मानिस घर छोड्न बाध्य छन्, तर मन्त्रीहरू विदेश भ्रमणमै व्यस्त छन्।’ उनले घुस प्रकरणमा परेका मन्त्रीको बारेमा छानबिन हुनुपर्ने माग पनि गरिन्। 

सांसद ज्वालाकुमारी शाहले देश र जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउनका लागि साना-ठूला सबै राजनीतिक दल एकापसमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। सांसद प्रभु शाहले किसानका लागि मलखाद, सिँचाइ र बिजुलीको व्यवस्था गर्नुपर्ने माग गरे। सांसद अमनलाल मोदीले शिक्षा विधेयक कहाँ हरायो? भन्दै प्रश्न गरे।  

सांसद नारायणी शर्माले गए राति भेरी करिडोरमा काम गर्दै आएको टिपर पश्चिमको आठबिसकोट नगरपालिका-१४ पिलिलचौरमा दुर्घटना भएको घटना सुनाउँदै सो दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन्। रासस

प्रकाशित: ७ श्रावण २०८२ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App