२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

लिवाङबाट दाहालले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन्। रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, जनताको आत्मसम्मान र देशबारे निर्णय गर्ने अधिकारमाथि बाह्य शक्तिहरूले चुनौती दिइरहेको आरोप लगाए।

उनले विदेशी प्रतिक्रियावादी शक्ति र तिनका ‘दलाल’विरुद्ध नयाँ अभियान सुरु गर्नुपर्ने आवश्यकता औँल्याए। ‘राष्ट्रको एकतालाई अक्षुण्ण राख्न, स्वाधीनतालाई जगेर्ना र सुदृढ गर्न अहिले नयाँ शक्ति र नयाँ अभियान चाहिएको छ,’ उनले भने।

प्रचण्डले वर्तमान परिस्थितिमा दुई अतिवादी प्रवृत्ति देखिएको दाबी गरे। उनका अनुसार २३ गते जेनजी युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने ‘निरंकुश, अहंकारी प्रवृत्ति’ एकातिर छ भने २४ गते विध्वंस मच्चाएर विदेशी शक्तिसँग मिलेर देशलाई संकटतर्फ धकेल्ने अर्को प्रवृत्ति अर्कातिर देखिएको छ। ‘यी दुवै प्रवृत्तिका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिनु जरुरी छ,’ उनले जोड दिए।

उनले दुई दर्जनभन्दा बढी देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्दै नेपाली कम्युनिस्ट पार्टी गठनको पहल गरिएको जानकारी दिए। नयाँ शक्तिका साथ प्रतिक्रियावादविरुद्ध पुनः देशव्यापी अभियान चलाउने संकल्प उनले व्यक्त गरे।

‘हाम्रा उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराइदिनुहोस्,’ उनले अपिल गरे, ‘जीवनको उत्तरार्धमा फेरि एकचोटि नयाँ अभियानका लागि जनताबाट शक्ति लिएर देशव्यापी आन्दोलनमा जाने मेरो सपना छ। स्वच्छ र निष्पक्ष निर्वाचन भए हाम्रो पार्टी पहिलो शक्ति बन्ने पूरा सम्भावना छ।’

लिवाङको सभाबाट उनले राष्ट्रिय एकता, स्वाधीनता र वैचारिक पुनर्गठनलाई चुनावी एजेन्डाको केन्द्रमा राख्दै नयाँ राजनीतिक मोर्चाको संकेत दिएका छन्।

प्रकाशित: १६ फाल्गुन २०८२ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App