गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल, शाह वंशलगायतका बाइसे, चौबिसे, सेन आदि राजा वंशीय युगहरू पार गरेर २०६३ सालबाट नेपालमा माओवादी युग सुरु भएकै हो। राजा वंश नै हुन्थ्यो भने नेपालमा राजा हुने पालो माओवादी वंशकै हो। सायद पुष्पकमल दाहाल यतिबेला श्रीपेच लगाई सवार हुन्थे। गणतन्त्रको नाममा उदाएका दाहाल नेपालका श्री ५ तथा श्री ३ भन्दा शक्तिशाली बने।
राजनीतिक डुंगा सही नचलाउँदा दाहाल अलमलिएका छन्। तर माओवादी राजवंश निरङ्कुश सत्तामा फर्कने उम्मेदमा नै लालयित छन्। बन्दुकको नालबाट जन्मेको माओवादी राजवंशसँग हामीले गणतन्त्र वा प्रजातन्त्रको आशा गर्नु आफ्नै मूर्खता हो। सबैलाई जग जाहेर नै छ, माओवादी राजवंशको रसबसमा हुर्केका एमाले, नेपाली कांग्रेस लगायतका नेता सबैजसो प्रचण्डपथमै चुर्लुम्म डुबेका छन् भने देशमा निरङ्कुश र एकतन्त्रीय लुटतन्त्र सलल बगेको छ। यहाँ कोही प्रतिपक्ष छैन अनि ती सबै नेपालको संविधान र कानुनभन्दा माथि छन्। लुटेरा बचाउने र बच्ने काममा सबै एकदलीय छन्। यही परिवेशमा नेपालमा जन्मेको माओवादबाट नेपालमा परेको असरबारे विश्लेषण गरिएको छ।
संसारमा प्रतिपादित कुनै पनि राजनीतिक विचारधारा र ती विचारधारा बोक्ने संस्था आफैंमा खराब नियत लिएर जन्मदैनन्। ती विचारधारालाई कार्यान्वयन गर्ने पक्षबाट नै राजनीतिक संगठनहरूको कसी जाँचिन्छ। देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवेशले नयाँ नयाँ राजनीतिक सोच र विचारलाई मन्थन गर्ने पृष्ठभूमि तयार पार्छन्। यही परिवेशमा नेपालमा पनि विभिन्न राजनीतिक घटनाक्रमको विकास भएका छन् भने तिनको रूप सशस्त्र र निःशस्त्र पाइन्छ।
नेपाल एकीकरण भएपछि पनि राजा रणबहादुर शाहको पालामा तत्कालीन बाइसे राज्य क्षेत्रमा नेपालविरुद्ध सशस्त्र विद्रोह भयो। त्यसपछि २००६ सालसम्म नेपालको राजधानीकेन्द्रित दरबार र भाइ–भारदारबिचको सत्ता हत्याउने मारकाटबाहेक सशस्त्र विद्रोह भएको पाइन्न। २००७ साल र त्यसपछिका दिनमा नेपालमा विभिन्न समयमा सशस्त्र र शस्त्रविहीन क्रान्ति भएका छन्। ती मध्यनेपालमा सबैभन्दा पीडादायक बनेको छ माओवादीको दश वर्षे सशस्त्र विद्रोह।
नेपालमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी र सामाजिक संरचनाले गर्दा पनि हरेक राजनीतिक दलका क्रान्तिकारी नारा नेपालीलाई आकर्षक लाग्छन्। तीमध्ये पनि वामघटकहरूले हाम्रो सामाजिक कमजोरीलाई समाउने गरी गरिबलाई मोहनी लगाउने योजना बनाई जनता लठ्याउँछन्। ती क्रान्तिकारीको महाजालमा परी जनता उनीहरूका पछि लाग्छन्। अनाहकमा गरिबले ज्यान गुमाउँछन्, अपाङ्ग हुन्छन् र अन्तमा गरिबहरूमा हात लाग्यो शून्य हुन पुग्छ। क्रान्तिकारी नेता भने सदा सुखसयलमा हुन्छन्।
नेपालमा माओवादीले ल्याएको क्रान्ति पनि अन्ततः त्यही मोडलमा अवतरण हुनुप¥यो। उनीहरूले गरिबलाई बाँडेका सपना निल्ने घाँटीभन्दा हाड ठुलो भएझैं भएको छ। जनताअगाडि उनीहरूलाई लाज सरम बढेको छ। नेताश्रीहरू लज्जित छन् आफ्नै कार्यकर्ताका अगाडि पनि। यो अवस्था सिर्जना हुनुमा माओवादीमा रहेको कार्यान्वयन पक्ष थियो। रगतले लेखेको इतिहासमा किरो लाग्छ भन्ने तथ्यलाई बुझेको भए अहिले माओवादीलाई आफ्नै क्रान्तिकारी नारा निल्नु न ओकल्नु हुने थिएन। जसरी बेमौसमी खेती लगाउन ऋतुले साथ दिँदैन, त्यसैगरी अहिलेको एक्काइसौं शताब्दीमा माओवादीले ल्याएको राजनीतिक छलाङ युवाको चाहनाभन्दा बिलकुल उल्टो छ। माओवादीले मान्छे मार्दा, अपहरण गर्दा, पैसा लुट्दा, अर्काको धनसम्पत्ति कब्जा गर्दा समेत जनताका लागि भन्ने रटान कस्छ। तर त्यो रटानबाट वाक्क भएर जनताले नाक र कान एकै पटक थुन्ने गरेको माओवादीले थाहा पाएर पनि बुचपचाउने गरेको छ।
आत्मसात गरी भन्नुपर्दा माओवादीको १० बर्से युद्धले नेपालमा राजनीतिक जागरण र मानव अधिकारको चेतना बढाएको छ। यो राम्रो पाटो हो। तर अन्य पक्ष केलाउने हो भने नेपालले ठुलो पीडा बेहोर्नुपरेको छ। किनभने आर्थिक रूपले हेर्ने हो भने नेपालमा भएका भौतिक संरचनाहरू जस्तै घर, पुल, विद्युत्, दूरसञ्चार, कलकारखाना, यातायातको साधन, अस्पताल, स्वास्थ्य चौकी, प्रहरी चौकीलगायतका सरकारी भवनहरूको अवान्छित क्षतिलाई मूल्याङ्कन गर्दा अर्बौं अर्ब नोक्सान भयो। त्यसैगरी माओवादका रूपमा खाओवादका लागि सोझा गरिबको समेत चल अचल सम्पत्ति हडप्दा जनताहरू कंगाल भएका छन्।
माओवादीको आर्थिक शोषणले गर्दा जनताको आर्थिक स्तर ५० वर्षपछाडि धकलिएको छ। देशमा हुने हरेक व्यापार, औद्योगिक व्यवसाय डुबेका छन्। अदक्ष जनशक्तिलाई जबर्जस्ती व्यवसायमा भर्ना गर्नुपर्ने बाध्यता र व्यवसाय बन्द गराउनुका साथै फिरौती असुल गर्नाले लगानीकर्ताहरू मारमा परेका छन् भने व्यवसायीहरू पलायन भइरहेका छन्। गरिब जनताको मुखको माड काढेर माओवादीले अर्बौं रूपैयाँको हतियार, गोला, धराप खरिद गरी जनताको पैसालाई लाशमा परिणत गर्यो भने गलत राजनीतिक मार्गबाट हिँडेर हिंसा, हत्या, अपहरण बढाई राज्यलाई बाध्य बनाएर सुरक्षाकर्मी बढाउने, हातहतियार, गोलीगट्ठा किन्नुपर्ने र प्रतिरक्षात्मक उपायहरूका लागि अर्बौं रूपैयाँ खर्च गर्नुपर्ने अनुत्पादक व्ययतर्फ धकेलेर देशलाई झनै गरिब बनायो। त्योभन्दा पनि ठुलो कुरा माओवादीको जबर्जस्तीमा टिक्न नसकी लाखौंलाख युवा शक्ति घर छाडी बिदेसिए भने देशभित्रै पनि अलपत्र हुन बाध्य भए। जसबाट देशलाई ठुलो आर्थिक घाटा भएको छ।
देशको मेरुदण्ड भनेको राजनीति नै हो। देशको राजनीतिमा अस्थिरता आएपछि हरेक पक्षमा डामाडोल हुन्छ। शान्ति सुरक्षामा ह्रास आउँछ। जनता र सरकारबिच अविश्वासको वातावरण सिर्जना गर्छ र देशमा झनै काटमार जन्मिन्छ। माओवादीको विद्रोहबाट सिर्जित राजनीतिक अन्योलले देश अन्धकार भएको छ।
राजनीतिको नाममा समाजमा माओवादी जिउँदो छँदा छँदै पनि पुनः सशस्त्र विद्रोह सूरु भई थुप्रै माओवादीको पुनर्जन्म हुनथालेको छ। राज्यका संयन्त्र कमजोर भई सरकार अपाङ्ग भएको छ। राजनीतिका नाममा ब्रह्मलुट बढेको छ। भिन्न विचार राख्ने राजनीतिक समूहलाई भौतिक कारबाही गर्ने, आफ्नो पक्षमा नलेख्ने पत्रकारलाई मार्ने, मागेको रकम नदिनेलाई अपहरण गर्ने र राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्नेदेखि प्राण पखेरु उडाउने कामसम्म हुँदै आएको थियो।
यो स्थितिको सिर्जना गर्ने र राजनीतिक सहमति हुनै नदिने पक्ष भनेको माओवादी नै हो। आफैं बसेको सरकारसँग राजनीतिक मोलतोल गरेर माओवादीले आर्थिक फाइदा उठाएको छ भने प्रजातान्त्रिक शक्तिहरूलाई क्षतविक्षत पारी वाम समीकरण गरेर नेपाललाई वाम राज्य बनाउने रणनीति बनिरहेको थियो। वाम राजनीतिका नाममा माओवादीले नेपाललाई कम्बोडियाको खमेरुजकाल बनाउने लक्ष्य राखेको थियो। जसबाट नेपाल फरक विचार राख्नेहरूको चिहान बन्न सकोस्।
माओवादी विद्रोहबाट सबैभन्दा ठुलो क्षति सामाजिक भातृत्व भावमा परेको छ किनभने सामाजिक सद्भाव र सहिष्णुताका लागि नेपाल विश्वमा नमुना थियो। समाजका जातिपाति, गरिबी, अशिक्षा हुनु राजनीतिक कमजोरी हो। तर त्यति भएर पनि नेपालमा जातिपाति र क्षेत्रीय लैंगिक नाराबाट सामाजिक विखण्डन भएको थिएन। यो पक्ष अहिले बहुत गम्भीर अवस्थामा छ। बाहुन, क्षत्री, वैश्य, शुद्र, छुत, अछुत, पहाडे, मधेसी, नेवार, राई, लिम्बू, तामाङ, गुरुङ, मगर आदिमा फुट सिर्जना गरेको छ, माओवादीको खमेरुज मोडलले। सबै जातिलाई आआफ्नै जातीय राज्य र राष्ट्रपति चाहिएको छ।
अहिले तराईमा जातीय सफाइ हुँदै छ र भोलि अन्य जातिले सूरु नगर्लान् भन्ने छैन। यो माओवादीको आदर्शबाट नेपालीले सिकेको पाठ हो। तर दुईतिर धार भएको हतियार बनायो भने कुनै दिन उसलाई पनि त्यही हतियारले काट्छ भन्ने माओवादीले बुझेन। तराईको सामाजिक स्थितिले माओवादी आत्तिएको छ। तर उसलाई अब यस पक्षको सुधार गर्न ढिलो भइसकेको छ भने त्यस क्षेत्रबाट उसको अस्तित्व पनि हराउन लागेको छ।
माओवादीले सामाजिक सद्भाव भड्काएर घर पोलेर खरानी बनाउन सिकायो तर खरानीले घर बन्दैन भन्ने कुरा भुलेर अहिले पश्चाताप गर्दै छ। यसको मूल्य पनि उसले चुकाउनुपर्नेछ राजनीतिक पाटोबाट। कुनै पनि देशमा विकास र राष्ट्रिय सुरक्षाका लागि सामाजिक एकताको सख्त जरुरत पर्छ। यो बिना देश अस्थिर हुन जान्छ। अहिले नेपालमा सामाजिक एकता घटेको छ र देश आतङ्कित राज्य बन्दै छ।
माओवादी कम्बोडियाको पोलपोट हुन ‘फुटाऊ र राज गर’ भन्ने नीति अपनाई सामाजिक सदभाव भाँड्न सफल भएको थियो। प्रचण्डपथको ‘जात जात फुटाऊ र सत्ता कब्जा गर’ भन्ने रणनीतिले उनलाई नै घात परेको छ। किनकि दाहालले हरेक चुनावमा ठाउँ फेरेर ‘राउटे राजनीति’ गर्नुपरेको छ। एकै चुनाव क्षेत्रमा उनले भोट नै पाउँदैनन्। हरेक चुनावमा उनका लागि एक माघको जाडो छल्नुपरेको छ। फुटाउने र जुधाउने यो पासो र पसारो दाहालका लागि नै दुर्भाग्य बनेको पक्कै हो।
अर्कातर्फ माओवादीको पोलपोट नीतिले देशको इतिहास मेट्ने काम गरी नेपाललाई इतिहासविहीन बनाउँदै छ। राष्ट्रिय एकता, सामाजिक सदभाव र राष्ट्रिय गौरव बढाउन देशवासीले इतिहास पढ्नुपर्छ। पुर्खाको राम्रो कहानी पढेर नै पुस्ताले पाठ सिक्ने हुन्। अहिले पनि हामी पृथ्वीनारायण शाह, बहादुर शाह, बिसे नगर्ची, कालु पाण्डे, अभिमानसिंह बस्न्यात, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भीमसेन थापा, झाँगल गुरुङ, सर्वजित राना मगर, विराज थापा मगरको नेपाल एकीकरणमा देन र जंगबहादुर राणा, बहादुर गम्भीरसिंह रायमाझी आदिको व्यक्तिगत वीरता तथा विभिन्न युद्धमा नेपालीले गरेको बहादुरी, विदेशी सेनामा नेपालीले गरेको बहादुरी, राष्ट्रिय आपत्तिमा हरेक जातजातिले गरेको सहयोग र एकता, तेन्जिङ शेर्पा र पासाङ ल्हामु शेर्पाले सगरमाथा चढेको साहस, राम शाहका प्रधानसेनापति काजी गोर्खा मनकामनाका लखन थापाको योगदान आदिकवि भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटा, इतिहास शिरोमणि बाबुराम आचार्य, अरनिको, भृकृटी, शंखधर साख्वा, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री, विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल, गणेशमान, मदन भण्डारी, मनमोहन अधिकारी आदिको इतिहास पढ्दै छौं। यसले हाम्रो गौरव बढाएको छ।
हामी पुर्खाप्रति कृतघ्न छौं। तर इतिहास र पात्रहरू माओवादीका लागि हलाहल विषसरह भएको छ। पुरानो इतिहासभन्दा राम्रो काम गर्न नसक्नेले जहिले पनि आफूलाई कमजोर ठान्छ। अनि आफू राम्रो छु भनेर देखाउन अरूलाई माटोमुनि पुर्छ भने इतिहास डढाउँछ। कल्याणकारी वा विनाशकारी जे काम गरे तापनि भविष्यमा पुष्पकमल दाहाललगायतको पनि इतिहास लेखिने छ। इतिहासले कसैलाई छाड्ने छैन। पुर्खालाई अपमान नगरी भन्ने हो भने के नेपालका राजाहरू सबैले नेपालीका लागि केही गरेनन्? देशलाई अंग्रेज, भोटे र चिनियाँको हातबाट जोगाएनन् त ? राजा हुने व्यक्ति गलत हुन सक्छ तर संस्था गलत हुँदैन। गलत छ भने राजाले पनि सजायँ पाउनुपर्छ। तर, एउटा व्यक्तिको कमजोरीमा एउटा संस्थाको इतिहासलाई नामेट गर्ने, ऐतिहासिक महापुरुषहरूको सालिक भत्काउने गर्नु माओवादीको ध ठुलो भुल हो। अझै सरम लाग्ने पक्ष त कवि, कवयित्री, राष्ट्रिय विभूति, राज नेताहरूको सालिक र इतिहास पनि तोडफोड भयो र हुँदै छ।
इतिहासलाई डढाएर, लडाएर आफ्नो इतिहास कहिल्यै पनि बन्दैन। इतिहास भनेको प्रेरणा हो, पाठ सिक्ने विद्या हो र राष्ट्रिय सम्पत्ति हो। आज हिटलरको इतिहास इजरायलका यहुदीले पढ्दै छन्, मुसोलोनीको इतिहास संसारले पढ्दै छन् भने कम्बोडियाको खमेरुजको इतिहास पनि संसारले पढिरहेको छ। तर दुःख लाग्दो कुरो, माओवादीले नेपालको इतिहास पढ्न लाज मानेको छ।
इतिहासकालमा उत्तरतर्फको छिमेकीसँग नेपालको तीन पटक युद्ध भयो। तर १९१२ सालपछि उत्तरतर्फको छिमेकीले नेपाललाई कुने बेइमानी गरेको छैन भने नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरिएको पाइँदैन। तर दक्षिणतर्फको छिमेकीलाई हेर्ने हो भने अंग्रेजसँग भएको युद्ध भारतीयसँग भएको थिएन। यसर्थ त्यसलाई उल्लेख गर्न मिल्दैन। तर २००७ सालपछि भने भारतले नेपाललाई पटक पटक अप्ठ्यारोमा घाँटी थिचिरहेको छ। हवाङहो नदीलाई चीनको दुःख भनेझैं दक्षिण एसियाको दुःखका रूपमा भारत रहेको छ।
यसले नेपाललाई पनि सधैं दुःख भोगेको देख्न चाहन्छ भन्ने कुरो इतिहासले देखाउँछ। यही क्रममा नेपालको तराई प्रदेशलाई मधेसी राज्य खडा गरी श्रीलंकाको जस्तो स्थिति सिर्जना गराई पहाडे र मधेसीको लडाइँ हेर्न चाहन्छ भारत। जुन इच्छा माओवादीले पुर्याइदिने भएको छ। किनभने नेपाललाई जातभातका आधारमा टुक्रयाएर विभिन्न राज्य खडा गरी प्रादेशिक सरकार खडा गर्ने काम माओवादीले सुरु गर्यो। त्यसको प्रतिफलस्वरूप अहिले नेपाल पुनः बाइसे चौबिसे राज्यमा विभक्त हुने स्थितिमा पुगेको छ।
नेपाल आमामाथिको अस्मितालाई बलात्कार गरेसरह गरी माओवादीले मातृभूमिलाई गुन लगाएको छ। त्यसैकारण होला, नेपाल निर्माण गर्ने ऐतिहासिक वीर पुरुषहरूको श्राप उनीहरूलाई लाग्छ भनी माओवादीहरू नेपालको इतिहासलाई नामेट गर्दै छन्। हामी सबैले बुझ्न जरुरी छ कि नेपाल रहे मात्र नेपाली भन्ने अस्तित्व रहने छ। पृथ्वीनारायण शाहलगायतलाई विस्तारवादी भन्दै र २४० बर्से शाही शासन भनी गाली गर्दै पुर्खाले एकीकरण गरेको नेपाललाई टुक्र्याएर आज माओवादी महापुरुष बन्दै छ।
नेपालका लागि माओवादीको सबैभन्दा ठुलो गुन भनेको विकासवादी जनशक्तिको बदला विनाशकारी जनशक्ति तयार पारेको छ। दश बर्से जनयुद्धले नेपाली युवाहरूमा कुटो, कोदालो, हलो, चर्खा, ढिकी, जाँतो, कलकारखाना, विद्यालय, पुलपुलेसो बनाउनेभन्दा गाग्री बम, बाल्टिन बम, सुतली बम, घरेलु पेस्तोल, बन्दुक, ग्रिनेड बनाउन र एम्बुस थाप्न सिपालु बनाएको छ। नेपाली समाज अनियन्त्रित हतियारमय भएको छ।
समाजमा कलमभन्दा बन्दुक बलियो भन्ने संस्कार बढेको छ। ‘जसको शक्ति उसको भक्ति’ भन्ने ढुङ्गे युगको विकास भएको छ। गैरकानुनी तरिकाले नेपाल हतियार र विष्फोटक पदार्थको बजारमा बनेको छ। यसले टोल, समाज र देशलाई आतङ्कको राज्य बनाएको छ। यो पक्षले नेपाली युवाहरूको मानसिकता बिगारेको छ भने हाम्रोजस्तो गरिब देशमा कलममुखी भन्दा बन्दुकमुखी सोच बढ्दै छ। माओवादीको हतियार मोहले गर्दा नेपाल हतियारमय बनेको छ। जसबाट नेपालले बर्साैंसम्म पीडा भोग्नुपर्नेछ र विनाकारण हजारौं नेपाली मर्नुपर्नेछ।
दुर्भाग्यको कुरो, नेपाली कांग्रेस, एमालेलगायतका कम्युनिस्ट (भक्तपुरको बाहेक), राजावादीसमेत माओवादबाट प्रभावित भई देश लुट्नमा माओवादीको बाजे बनेका छन्। शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतले यो देशको माटो, न्यायालय, प्रहरी, प्रशासन सबै कब्जा गरेका छन्।
सबै नेता माओवादीको प्रभावमा परेर खाओवादी भएका छन्। यिनीहरू नेपालको संविधान र कानुनभन्दा माथि छन्। १८०१ सालदेखि २०८२ सालसम्म दुई सय ८१ वर्षको राजनीतिको लेखाजोखा गर्दा आजको नेपाली राजनीति सबैभन्दा दुःखदायी बनेको छ। लुट गर्न र राज्य कब्जा गर्ने काममा सबै पार्टीका नेता एकै ठाउँमा हुन्छन्। नेपाली कांग्रेस कम्युनिस्टहरूको वायुपङ्खी घोडा भएको छ। माओवादी युगले ल्याएको सबैभन्दा खतरा कुरामा काम नगरी पैसा कमाउने र समाजमा जातीय फुट ल्याउने हो। आजको गणतन्त्र नेपालीका लागि विष भएको पक्कै हो। नेपालको राजा संस्था फाल्नुबाहेक अरू काम केही गरेन माओवादीले।
देशको तरल अवस्थामा छ। जनता राजनीतिबाट वाक्क भइसकेका छन्। लोकतन्त्रको नाममा देश आतङ्कित बन्दै छ। साम्प्रदायिक भावना बढी नेपाल जातीय विनाशतर्फ धकेलिँदै छ भने देश टुक्रा टुक्रा हुने स्थितिमा पुगेको छ। प्रजातान्त्रिक धार भर्सेज वाम धारको राजनीतिक पौंठेजोरी खेलिँदै छ। घर पोलेर खरानी बनाउने संगठनले राजनीतिक माहोल बिगारेका छन्। आन्तरिक शक्ति र सुरक्षा नामेट हुँदै छन्। राजनीतिक धरातल भत्काई नेपालमा पोलपोट व्यवस्था ल्याउन सेना, प्रहरी र प्रशासनमा आगो लगाउने काम हुँदै छ भने देशमा चन्दा, आतङ्क, अपहरण, लुटपाट, डकैती, हत्या, बलात्कार, अवैध व्यापार, धर्ना, चक्काजाम, बन्द, युवा पलायन तथा बेरोजगारी बढेका छन्।
नेपाल सरकार आफैंले आफ्ना जनता विदेश बेचिरहेको छ। धर्म नछाडी भन्नुपर्दा गणतन्त्र नेपालका सेना, प्रहरी, प्रशासन र न्यायालयकै नपुंसकताले नेपालमा प्रजातन्त्र होइन, आठदश जना नेताको डाँकातन्त्र चलिरहेको छ। जनता कानुनबिनाको राज्यमा बसिरहेका छन्। नेता तथा राजनीतिक पार्टीको विरोध गर्यो भने सबैलाई मर्छु भन्ने डर छ। यो माओवादीकै कोसेली हो। दुर्भाग्यमा बाँचेका छन् नेपाली। पक्का पनि यो स्थितिबाट देशले मुक्ति पाउनुपर्छ। यसको विकल्प भनेकै कम्युनिज्मको उन्मूलन हो।
देशका गरिबी र दुःख कम्युनिज्मका लागि पोखरी हुन् भने कम्युनिस्टहरू माछा हुन्। पोखरीको पानीबिना माछाको कल्पना नभएजस्तै नेपालमा कम्युनिस्ट छउन्जेल देश विकास हुने छैन अनि पोलपोट मोडलको काम कारबाही हट्ने छैन। तसर्थ नेपालबाट छिटोभन्दा छिटो कम्युनिज्मको उन्मूलन हुनैपर्छ।
प्रकाशित: ३ श्रावण २०८२ ०६:०७ शनिबार





