पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई स्वदेशमै रोक्न नसके देशले ठूलो संकट व्यहोर्ने चेतावनी दिएकी छन्।
विराटनगरमा सोमबार उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पलायन देशको प्रमुख चुनौती बनेको औंल्याइन्।
उनले उपलब्ध स्रोतसाधनको उपयोग गर्दै सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन्। ‘स्वदेशमा रोजगारीको अभावमा युवा विदेश पलायन हुनु र राज्यप्रति जनताको अविश्वास बढ्दै जानुले दिगो विकासमा कठिनाइ उत्पन्न भएको छ,’ उनले भनिन्।
उनले जनतामा देखिएको निराशालाई आशामा बदल्न सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरिन्।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विशेष परिस्थितिमा दुई ठूला दल मिलेर सरकार चलाएकाले यसलाई गलत भन्न नमिल्ने तर्क गरे।
उनले भने, ‘एमाले र नेपाली कांग्रेसबीचको सहकार्यले नै राजाको निरंकुशतालाई घुँडा टेकाएको हो।’ दुई ठूला राजनीतिक शक्ति मिल्दा देशको आर्थिक अवस्था लयमा फर्किएको उनको दाबी थियो।
सोही कार्यक्रममा राजनीतिशास्त्री कृष्ण पोखरेलले नेपालको राजनीतिमा विचलन आएको टिप्पणी गरे। उनले २०७९ सालदेखि नै राजनीतिले सही बाटो समात्न नसकेको दाबी गर्दै भने, ‘दुई ठूला पार्टी हुँदाहुँदै तेस्रो पार्टीको नेतृत्वमा सरकार बन्नु र पछि दुई ठूला पार्टी आफैं मिल्नु, दुवै राजनीतिक विचलन हुन्।’
कार्यक्रममा उद्योगी महेश जाजु, पत्रकार बाबुराम भण्डारी लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
प्रकाशित: २ भाद्र २०८२ २१:०२ सोमबार





