राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न र उनीहरूका सुझाव, गुनासा तथा जिज्ञासा सुन्नका लागि साप्ताहिक भेटघाट कार्यक्रम ‘खुल्ला आँगन’ सुरु गर्ने भएको छ।
पार्टीले हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६:३० बजेसम्म आफ्नो केन्द्रीय कार्यालय, वनस्थलीमा उक्त कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, जनतामाझ पुग्ने, उनीहरूका कुरा सुन्ने, उत्तरदायी बन्ने र सहभागितामूलक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने उद्देश्यले यो साप्ताहिक भेटघाटको अभ्यास थालिएको हो।
‘खुल्ला आँगन’ मार्फत पार्टीले आम नागरिकको आवाज सुन्न, नीति निर्माणमा नागरिक संलग्नता बढाउन र समाधानसहितको जवाफदेहिता विकास गर्न चाहेको प्रवक्ता झाले बताए।
पहिलो कार्यक्रम यही साउन १६ गते शुक्रबारबाट सुरु हुनेछ।
उनका अनुसार कार्यक्रमको ढाँचा सबैका लागि खुल्ला रहनेछ र यसको कुनै पूर्वनिर्धारित एजेन्डा हुने छैन, जसले गर्दा सहभागीले स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न सक्नेछन्।
पार्टीका नेतृत्व, केन्द्रीय सदस्य, सांसद तथा विषयगत विज्ञहरूको उपस्थितिमा हुने यो कार्यक्रम फेसबुक, युट्युबजस्ता माध्यमबाट प्रत्यक्ष प्रसारणसमेत गरिने बताइएको छ।
रास्वपाले ‘खुल्ला आँगन’ लाई केवल कार्यक्रमका रूपमा मात्र नभई, आमआवाजमा आधारित जवाफदेहिताको संस्कृति विकास गर्ने एक नयाँ राजनीतिक संस्थाको आरम्भका रूपमा लिएको जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८२ १६:५९ बिहीबार





