नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दै छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा मुख्यगरी समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल केन्द्रित हुने बताइएको छ।
बैठकले सरकार र जेन-जी आन्दोलनकारीबीच भएको हालैको सम्झौताका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ। साथै, आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण निर्माण र त्यसमा पार्टीको भूमिकाबारे पनि गहन छलफल हुने नेताहरूले बताएका छन्।
बैठकको अर्को पेचिलो विषय १५ औँ महाधिवेशनको कार्यतालिका रहेको छ। यसअघि पुस २६ देखि २८ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको मिति अब परिवर्तन हुने निश्चितप्रायः छ। क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी रहेको र समय कम भएकाले कार्यतालिका संशोधनको प्रस्ताव बैठकमा पेस हुनेछ।
नियमित समयमा महाधिवेशन सम्भव नदेखिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशनमा जानुपर्ने मत राख्दै आएका छन्।
प्रकाशित: ९ पुस २०८२ ०९:३१ बुधबार





