२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेको सदस्यता कांग्रेसले नवीकरण नगर्ने

नेपाली कांग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।  

नेपाली कांग्रेस जिल्ला कार्य समिति सुनसरीको बुधबारको बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावाली संकलन नगर्न सकुर्लर गर्ने र त्यसपछि प्राप्त नामावालीका आधारमा नवीकरण नगर्ने निर्णय भएको हो । जिल्ला सभापति केदार भण्डारीका अनुसार जिल्लाभर जुनसुकै स्थानमा आन्दोलनमा सहभागी भएर आगजनी, तोडफोड र लुटपाट गर्ने कार्य अपराधिक भएकाले पार्टीलाई परिमार्जित र रुपान्तरण गरेर लैजान यस्तो निर्णय गरिएको हो ।  

जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्य समितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने प्रदेश महामन्त्री उमेश थापाले बताए । उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन्, खोजी खोजी निस्कासन गर्नेछ ।  

सुनसरीमा जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको थियो । निजी क्षेत्रको क्षतिको अहिलेसम्म विवरण संकलन हुन सकेको छैन ।  

जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट एक अर्ब १७ करोड तीन लाख ३८ हजार ८३५ रुपैयाँको क्षति भएको जिल्ला प्रशासन कार्यालयको रकेर्डमा उल्लेख छ । जिल्लामा रहेका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकामध्ये हरिनगर र बर्जुबाहेक अन्यमा तोडफोड तथा आगजनी भएको थियो । यीमध्ये सबैभन्दा बढी इटहरी उपमहानगरपालिकामा क्षति भएको थियो । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी इटहरी क्षेत्रमै आगजनी तथा तोडफोड गरिएको थियो । यी सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा कांग्रेसका जिम्मेवार नेताकै संलग्नता भएको गुनासो सर्वत्र आएपछि पार्टीले यस्तो निर्णय गरेको जानकारी दिइयो ।  

इटहरीमा जेन-जी आन्दोलनका क्रममा भदौं २३ गते इटहरी-१४ का ४० वर्षे मोहन सरदार र इनरुवा वडा नं. ६ घर भइ इटहरी आफन्तको कहाँ बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भएको थियो ।  

आन्दोलनका क्रममा कांग्रेसबाट विजयी इटहरीका मेयर हेमकर्ण पौडेलको अढाई तले पक्की घर आगजनीबाट पूर्ण रुपमा क्षति भएको  थियो । यस्तै, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको इटहरीमै रहेको घरमा सामान्य क्षति पुगेको थियो ।  

उत्ता, धरानमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड भएको थियो । यसैगरी, धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख मनोज मेन्याङ्वो, पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ्लगायतको घरमा तोडफोड भएको थियो । पूर्वमेयर मेन्याङ्वोको कञ्चनजंघा होटल पनि तोडफोड गरिएको थियो ।  

आन्दोलनका क्रममा कांग्रेससबाट विजयी कोशी गाउँपालिका अध्यक्ष अयूव अन्सारीको इनरुवामा रहेको घरमा आगजनी गरिएको थियो । यस्तै, इनरुवाका मेयर एवम् कांग्रेस जिल्ला सभापति केदार भण्डारीको घरमा आगजनी गरिएको थियो ।  

प्रदर्शनकारीले इनरुवामै रहेको सुनसरी क्षेत्र नं. २ का निवर्तमान संघीय सांसद एवम् एमाले नेता भीम आचार्य र इनरुवा वडा नं. ६ का वडाध्यक्ष सुमन थापाको घरमा क्षति पुर्‍याएका थिए ।  धरान र इटहरीमा भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो ।  

प्रकाशित: १७ मंसिर २०८२ १९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App