४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको गृहमन्त्री लेखकको आरोप

गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको आरोप लगाएका छन्। बुधबार (आज) बसेको संसद् बैठकमा बोल्ने क्रममा गृहमन्त्री लेखकले लामिछानेका प्रति यस्तो आरोप लगाएका हुन्।

गृहमन्त्री लेखकले लामिछाने अमेरिका जाँदा भिजिट भिसामै गएको तर, त्यतैको नागरिकता लिएर बसेको भन्दै आरोपित गरे। र, त्यो भिजिट भिसाको दुरुपयोग हुने उनले बताए। 'भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ?,' गृहमन्त्री लेखकले सोधे।

उनले थप भने, 'अनि भिजिट भिसाको दुरुपयोग गर्ने नेताको पार्टीका कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने हो ?' 

उनले भनेका छन्-

माननीय रवि लामिछानेजी, जो यही सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले परिस्थिति एउटा छ। उहाँ कुनै समयमा संयुक्त राज्य अमेरिकामा भिजिटरकै रूपमा जानुभएको थियो रे भन्ने कुरा सुनेँ। भिजिटरका रूपमा जाने भनेको भिजिट भिसा हो। एक किसिमको भिजिट भिसा नै हो। मैले जान्न खोजेको, उहाँ भिजिटरका रूपमा अमेरिकामा जानुभएको हो कि होइन ? यदि भिजिट भिसा अथवा भिजिटर वा निश्चित समय अर्को देश बसेर फर्किएर आउने भिसामा जानुभएको होइन भने के भिसामा कुन भिसामा जानुभएको हो, त्यो जानकारी गराइदिनहुन अनुरोध गर्दछु। यदि भिजिट भिसामै जानुभएको हो भने अनि भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने नेताको पार्टीका कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने हो ? 

यदि कुरा मैले आजसम्म गरेको थिइनँ। तर, साथीहरू अलिक गर्न नहुनेतिर लाग्नुभएको छ। प्रधानमन्त्री देशको प्रतिनिधित्व गरेर जानुभएको हो। राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा गएका प्रधानमन्त्रीका बारेमा असत्य, अनर्गल कुरा उठाएर ठीक हुन्छ ? यही हो पद्धति बसाउन खोजेको ? नैतिकताको कुरा आफूबाट सुरु गरौँ। पहिले मेरा कुराको जवाफ दिएर अर्को कुरा अर्कै दिन गर्नका लागि गर्नुहोला।

प्रकाशित: २५ असार २०८२ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App