इलाम, साउन २२
इलामको राजदुवालीस्थित मेची राजमार्ग बन्द भएको महिना बित्यो । नजिकका वैकल्पिक २ समेत बन्द हुँदा इलाम ‘टापु’झैं छ । उपभोग्य सामग्री अभाव हुनथालेको छ । तर, इलाम बजारकै छेउमा रहेको विमानस्थल चाहिँ महिनौंदेखि सुनसान छ । यात्रु आउ–जाउ देखिँदैन, सामग्री ढुवानीसमेत छैन ।
गत असोज १८ र १९ मा ३९ जनाको मृत्यु हुनेगरीको बाढी–पहिरोले मुख्य सडक हप्तौं बन्द भए । तर, इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल सुनसान नै रह्यो । यो साल राजदुवाली खण्ड पटक–पटक पहिरो झरेर र धाँजा फाटेर गाडी चलाउने अवस्था छैन ।
यसको विकल्प भनिएको सिमलगोलाई–तिल्केनी सडकको जागमाई खोलामा पुल छैन, डाइभर्सन पटक–पटक बाढीले बगाइरहेको छ । केचना–कञ्चनजंघा मार्ग (झापा–इलाम) फास्ट ट्र्याकको पुवाखोलामा पनि ठ्याक्कै जोगमाई खोलाकै हालत छ । दुवै कच्ची सडकको हिलो चाहिँ सवारीका साधन सहजै पार गर्नेखालको छैन ।
गत चैतयता यो विमानस्थलमा जहाज आएको छैन । ‘अभर परेका बेलासमेत सञ्चालन हुन नसक्ने विमानस्थल किन बनाइएको होला,’ इलामका अजय लिम्बू भन्छन्, ‘पोहोरको विपद्मा पनि यो विमानस्थल प्रयोग भएन । यो साल पनि उस्तै छ । भएको विमानस्थल किन झार उम्रिने अवस्थामा पुगेको होला ?’
नेपाल वायु सेवा निगमले गतवर्ष ३३ पटक उडान भरेको विमानस्थलमा यो वर्ष ‘जहाजको संख्या नपुगेको’ कारण देखाउँदै उडान नगरेको विमानस्थलको स्थानीय व्यवस्थापक इलाम नगरपालिकाले जनाएको छ । मेयर केदार थापाले विमानस्थल भएर पनि इलामले फाइदा लिन नसकेको बताए । ‘नियमले यात्रुका लागि भरपर्दो सेवा दिएन,’ उनले भने, ‘इलाममा बाढी–पहिरोको यत्रो विपद् छ, नजिकै विमानस्थल भएर पनि प्रयोग नहुनु विडम्बना भएको छ ।’
मेयर थापाले यहाँ नियमित उडान नहुँदा यात्रुका लागि विमानस्थल भरपर्दो हुन नसकेको बताए । ‘निगमले यात्रुको संख्या कम भएकाले नियमित उडान हुन नसकेको जबाफ दिनेगरेको छ,’ मेयर थापाले भने, ‘तर, टिकट काटिसकेका यात्रुको टिकट फिर्ता गर्ने, झापा र विराटगनरतिर उडान सार्नेजस्ता काम गरेपछि यात्रुलाई विमानको विश्वास भएन ।’
३० करोड रुपैयाँहाहाराही खर्चेर निर्माण गरिएको विमानस्थलमा जहाज चलाउन निगमले इलाम सदरमुकाममै कार्यालयसमेत स्थापना गरेको थियो । तर, उडान नियमित नभएपछि अहिले उठाइएको छ । त्यहाँ कार्यरत कर्मचारी काठमाडौं तानिएको छ भने कार्यालयका सामग्री विराटनगर लगिएको छ । ‘हामीले नियमित उडानका लागि पटक–पटक आग्रह गरेका छौं तर हुन सकेको छैन,’ मेयर थापा भन्छन्, ‘इलामको पर्यटन र आर्थिक विकासको महत्वपूर्ण यो पूर्वाधारको सदुपयोग होस् ।’
मेची राजमार्ग बन्द हुँदा इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको यातायात सम्बन्ध टुटेको छ । यहाँ उत्पादित दूधलगायत कृषिउपजको ढुवानी ठप्प छ भने उपभोग्य सामग्री निकै कष्ट झेलेरमात्र ल्याउनुपरेको इलाम उद्योग वाणिज्य संघ अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) बताउँछन् । ‘सवारीका साधन चल्न ज्यादै कष्ट भएको छ, उपभोग्य सामग्री अभाव हुन नदिन हरतरहले प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘एकझर पानी आउनेबित्तिकै ठूला गाडी चल्ने अवस्था छैन ।’
सिमलगोलाई–तिल्केनी सडकको जोगमाईमा पुल छैन भने वारिपारिको सडक हिलोले कन्तबिजोक छ । जोगमाईमा हालिएको डाइभर्सन पानी पर्दैपिच्छे बाढीले बगाउनेगरेको छ । पानी अडिएपछि मर्मत गरिन्छ तर फेरि बगाइहाल्छ । इलाम–झापा फास्ट ट्र्याकको अवस्था पनि उस्तै छ । कच्ची सडकमा हिलोले गाडी चल्न जटिल छ भने पुवाखोलामा पुल नहुँदा समस्या छ । यहाँ हालिएको डाइभर्सन पनि बाढीले बगाएको बगायै छ । पटक–पटक मर्मत गरेर गाडी चलाउने गरिएको छ ।
पटक–पटक मर्मत गर्दा पनि मेची राजमार्गको राजदुवालीबाट गाडी चल्न नसकेपछि र वैकल्पिक सडकहरूको अवस्थासमेत नाजुक हुँदा स्थानीय आजित छन् । विमानस्थल नियमित गर्न र सडकहरू सहज बनाउन स्थानीय निरन्तर माग गरिरहेका छन् ।
प्रकाशित: २२ श्रावण २०८३ १९:०२ शुक्रबार





