१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

मोरङमा आगलागी हुँदा सात लाखको क्षति, एक वृद्ध घाइते

मोरङको सुनवर्षी नगरपालिका-७ बरडंगास्थित लक्ष्मीटोलमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्ध घाइते भएका छन्।

आगलागीबाट गाईगोठ र भान्साघर (किचन) जलेर नष्ट हुँदा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान ४ बजेतिर स्थानीय लालचन्द शर्माको टिनको छाना र टाटीबेराले बनेको गाईगोठमा आगलागी भएको थियो। गाईगोठमा घुर बालेको अवस्थामा अचानक आगो सल्किएको जानकारी प्रहरीले दिएको छ।

आगलागीको सूचना प्राप्त भएपछि प्रहरी चौकी बरडंगाबाट प्रहरी सहायक निरीक्षक चेतनारायण श्रेष्ठको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरी, रंगेली नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहान पौन ५ बजेतिर आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीमा गोठधनी ७० वर्षीय लालचन्द शर्मा दुवै पाखुरा, दायाँ खुट्टा र टाउकोमा आगोले पोलेर घाइते भएका छन्। उपचारका लागि सुरुमा रंगेली अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट गाईगोठ र किचन पूर्णरूपमा जलेर नष्ट भएका छन्। एउटा ब्याउने गाई र तीनवटा गोरुसमेत जलेर घाइते भएका छन्। घटनामा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ आश्विन २०८३ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App