अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सडक महोत्सव–२०२६ आयोजना गरियो।
नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका (बाना) को अगुवाइमा भएको महोत्सवमा मेरिल्याण्ड लगायत आसपासका राज्यमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता थियो।
‘हाम्रो संस्कृति, सम्पदा र समुदायको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा नेपाली समुदायका विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाले आआफ्ना ब्यानरसहित सहभागिता जनाएका थिए।
सहभागी संस्थाले आफ्ना मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका थिए।
महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा, संगीत, नृत्य तथा हस्तकलाका साथै विभिन्न नेपाली खानाका परिकार प्रदर्शन गरिएकाे थियाे। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले सांस्कृतिक प्रस्तुति दिए।
नेपालको कला, संस्कृति, परम्परा तथा सम्पदा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बानाका वरिष्ठ उपाध्यक्ष जनकबहादुर थापाले बताए।
बानाले सात वर्षदेखि बर्सेनि नेपाल सडक महोत्सव आयोजना गर्दै आएको छ। यस वर्षको महोत्सव आठौं संस्करण हो।
नेपालको कला, संस्कृति, प्राकृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
नेपाली कला तथा संस्कृतिलाई अमेरिकी समुदायमाझ परिचित गराउँदै नेपाल र अमेरिकाको सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउन महोत्सवले योगदान पुर्याउने विश्वास लिइएको छ।
यसैबीच हालै भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि सहयोग जुटाउन समेत महोत्सवका माध्यमबाट आह्वान गरिएकाे हाे।
नेपाली दूतावास, वासिङ्टन डीसी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका तथा नेपाल पर्यटन बोर्ड लगायतका संस्थासँगको सहकार्यमा उक्त महोत्सव आयोजना गरिएको थियो।
प्रकाशित: १२ आश्विन २०८३ १२:५१ सोमबार





