ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढाउनुपर्ने बताएका छन् ।
बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाको शपथ समारोहमा मन्त्री खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई चाँडोे अगाडि बढाउन लाग्नुपर्ने बताएका हुन्। मन्त्री खड्काले बूढीगण्डकी जस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेकाले यसलाई स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिनेगरी अघि बढाउन निर्देशन दिए।
आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उनले बताए। नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको व्यावसायिक अनुभवले आयोजनालाई गति दिने मन्त्री खड्काले विश्वास व्यक्त गरे। आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो ।
“एक हजार २०० मेगावाट क्षमताको यो बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान पुग्नेछ, यो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य तथा उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नुपर्छ,” मन्त्री खड्काले भने।
प्रकाशित: २३ श्रावण २०८२ १७:१२ शुक्रबार





