१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले देउवाको सम्पत्तिबाट छानबिन सुरु गर्छ: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सरकारको नेतृत्व लिएको खण्डमा सबैभन्दा पहिला नेताहरूको सम्पत्ति छानबिन गर्ने उद्घोष गरेका छन्।

शुक्रबार पोखराको अमरसिंह चौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस नेतृत्वको सरकारले शक्तिशाली आयोग गठन गरेर २०४६ सालपछि सार्वजनिक पदमा रहेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन्।

थापाले भने, ‘नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ। त्यो शक्तिशाली आयोगले ४६ सालपछि प्रधानमन्त्री हुनुभएको शेरबहादुर देउवाको सम्पत्ति र मन्त्री भएको गगन थापाको सम्पत्ति, सबैभन्दा पहिला त्यहाँबाट छानबिन सुरु गर्छ।’

भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा अभिव्यक्ति दिँदै उनले छानबिनका क्रममा आफ्नै परिवारका सदस्य दोषी देखिए पनि नछोड्ने प्रतिबद्धता व्यक्त गरे।

‘कांग्रेसले आफ्नो ‘बा’ भए पनि छोड्दैन,’ थापाले भने, ‘एउटा-एउटा कुराको र काण्डको छानबिन गर्छ र भविष्यमा त्यस्तो काण्ड हुन नदिन संस्था र कानुन बनाउँछ।’

सभापति थापाले आगामी ५ वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योगका क्षेत्रमा क्रान्तिकारी रूपान्तरण ल्याउने दाबी गरे।

उनले यस्तो परिवर्तन कसैलाई भौतिक कारबाही गरेर नभई विधि र कानुनको परिधिभित्र रहेर गरिने स्पष्ट पारे। ‘कसैलाई कोर्रा लगाएर, झुन्ड्याएर वा ठोकेर होइन, नियम कानुन भित्र रहेर परिवर्तन सम्भव छ,’ थापाले भने, ‘हामीले हरेक कुराको सूक्ष्म अध्ययन गरेर संकल्पका साथ आएका छौं।’

प्रकाशित: १५ फाल्गुन २०८२ १८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App